काठमाडौँ: पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा विहिबार बिहान भएको खेलमा चितवन राइनोजले हुलास काठमाडौं रोएल्सविरुद्ध १३ रनको रोमाञ्चक जित निकालेको छ ।
१ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंलाई निर्धारित ओभरमा १ सय ३६ रनमा रोक्दै चितवनले जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो।
अघिल्ला दुई खेलमा लगातार हार भोगेको काठमाडौंले पछिल्ला २ खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । उसले चार खेलबाट चार अंक जोडेको छ । काठमाडौंको ३ खेलबाट ४ अंक भएको छ । २३ रनमा २ विकेट गुमाएको स्थिति सम्हाल्दै पवन सर्राफ र गौरभ टोमारले ५८ रनको साझेदारी गरेपछि काठमाडौंको इनिङ्स सम्हालिएपनि उनीहरु आउट भएपछि विकेट पतन सूरु भएको थियो ।
गौरभ ३९ र पवन २८ रनमा आउट भए । क्याप्टेन ज्ञानेन्द्र मल्ल ३० र जयकिसन कोल्सावालाले १८ रन जोडेपनि हार भने टार्न सकेनन् । करण केसीले ३, पारस खड्काले २ तथा सन्नी पटेल र स्मिथ पटेलले एक एक विकेट लिएका छन् ।
यसअघि पोखरा रंगशालामा पहिले व्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । अनिल साह र हरि शंकर साहले ५४ रनको साझेदारी गर्दै चितवनलाई उत्कृष्ट सुरुवात दिएपनि मध्यक्रमका व्याट्सम्यान चल्न नसक्दा चितवन मध्यम स्कोरमा रोकियो । हरिशंकर ६० र अनिल २७ रनमा आउट भए । स्मित पटेलले ३१ र क्याप्टेन पारस खड्काले १४ रन बनाए ।
वसन्त रेग्मीले २ विकेट लिए ।
आजै दिउँसो सवा एक बजे बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढीबीच प्रतिस्पर्धा हुनेछ । चार अंकमा शीर्ष स्थानमा रहेको बुटवल जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने दाउमा हुँदा धनगढी दोस्रो जितको खोजीमा हुनेछ । धनगढीले तीन खेलबाट २ अंक जोडेको छ । चार खेलबाट २ अंकमात्र जोडेको विराटनगर टाइटन्स भने तालिकाको पुछारमा छ ।
