काठमाडौँ: रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ ।

स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल रु एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले रु एक अर्ब २६ करोड ३१ लाख पाँच हजार बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

उनले भने, “स्थानीयवासीले आफूहरुलाई शेयर बिक्रीको समय पछाडि सारिदिन गरेको आग्रह नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएका छाँै । बोर्ड अनुमति दिने प्रक्रियामा छ ।” सो कम्पनीले रसुवावासीलाई रु ६८ करोड ४२ लाख १० हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । कूल ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी आवमा आयोजना निर्माण सक्ने जनाएको छ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई रु ५४ करोड ७५ लाख तथा रसुवावासीलाई रु ३६ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । दुवै आयोजना आगामी आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version