चितवन: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे ।

उनले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताउनुभयो । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्छ भने ।

महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उहाँले बताउनुभयो । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए ।

काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने, “नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन् ।” कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले थपे, “अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन् ।”

फरक प्रसंगमा बोल्दै उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने बताए । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनु पर्ने भन्दै उहाँले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गराउनुभयो । उनले भने, “यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु । यहाँ बनाउन उपयुक्त हँुदैन ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version