काठमाडौं : लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो । ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो हो’, सुवेदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन् ।’

आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म १ हजार ९ सय ७० संख्यामा विज्ञापन मागेको थियो । यस वर्ष भने त्योभन्दा पनि बढीको संख्यामा आवेदन खुल्ने सुवेदीले बताए । आयोगले मंगलबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्यायसेवा आयोग र व्यवस्थापिका संसद्लाई आवश्यक कर्मचारी माग्दै विवरण पठाउन परिपत्र गरेको छ ।

‘सेवा सञ्चालनका निकायसँग माग पठाउन परिपत्र गरेका छौं । माग आएपछि त्यसकै आधारमा विज्ञापन गर्छौं’, उनले भने । कर्मचारी माग गर्ने अधिकार सेवा सञ्चालन गर्ने निकायको भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत सातौं तहदेखि ११ तहसम्म विज्ञापन गरिनेछ । अन्य क्षेत्रमा भने शाखा अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन खुल्ने उनले जानकारी दिए । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी सेवासम्बन्धी कानुन नबनेकाले निजामती सेवा ऐनअनुसार पद र प्रतिशत छुट्याएर विज्ञापन गर्न लागिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version