काठमाडौं : फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् ।
प्राधिकरणले ड्राइभ टेस्ट विधिमार्फत परीक्षण गरेको थियोे।असोज ११ गतेदेखि असोज २५ गतेसम्म बिहान र साँझको नेटवर्क व्यस्त हुने समयमा काठमाडौंका ३८ स्थानमा परीक्षण गरिएको थियो। फोन कल तोकेको स्तरभन्दा अधिक भएको पाइएको प्राधिकरणले जनाएको छ । परीक्षणमा हाल सेवा उपलब्ध गराइरहेका तीन सेवा प्रदायक एनेसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमलाई समावेश गरिएको थियो। प्रतिवेदनअनुसार कल स्थापित हुन लाग्ने समयमा सबैभन्दा कम समय एनसेलको लाग्ने गरेको पाइएको छ।
एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड छ। यस्तै नेपाल टेलिकमको कल स्थापित हुन लाग्ने समय ११.४८ सेकेन्ड र स्मार्ट टेलिकमको कल स्थापित हुन लाग्ने समय १३.७१ सेकेन्ड छ। कल स्थापित हुने सफलतादरमा पनि तीनवटै कम्पनी असफल भएका छन्। यसका लागि न्यूनतम स्तर ९९ प्रतिशत वा सोभन्दा बढी तोकिएकामा नेपाल टेलिकमको कल स्थापित हुने सफलतादर ९८.२६ प्रतिशत छ। एनसेलको ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९७.३९ प्रतिशत छ ।
प्रतिवेदनअनुसार नेपाल टेलिकम सेवाका आधारमा अघि देखिएको छ। सेवाको स्तर वा कल स्थापित नहुने दरमा तीन कम्पनीमध्य नेपाल टेलिकम मात्र उत्तीर्ण भएको छ। प्राधिकरणले तोकेको न्यूनतम स्तर २ प्रतिशतमा नेपाल टेलिकमको दर १.७४ प्रतिशत, एनसेलको दर २.२३ र स्मार्ट टेलिकमको दर ७.६१ प्रतिशत छ।मोबाइल अपरेटरले सञ्चालन गरेको मोबाइलमार्फत आफैं फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने सबै कम्पनीको सफल छन्।प्राधिकरणले तोकेको न्यूनतम स्तर दुई प्रतिशत वा सोभन्दा कम रहेकामा सबै टेलिकम अपरेटरको दर शून्य प्रतिशत छ ।
प्रतिवेदनमा टेलिकम अपरेटरको इन्टरनेट सेवाको विषय पनि समेटिएको छ। त्यसमा भने सबै सेवा प्रदायकको परिणमा सकारात्मक आएको पाइएको छ। वेबपेजबाट फाइल डाउनलोड हुने सफलतादर प्राधिकरणले ८० प्रतिशत वा सोभन्दा बढी तोकेकोमा सबैभन्दा अघि स्मार्ट टेलिकम देखिएको छ। स्मार्टको सत प्रतिशत नै रहेको प्रतिवेदनमा छ। नेपाल टेलिकमको ८३.३३ प्रतिशत र एनसेलको ९७.६२ प्रतिशत छ। यस्तै पिंग गर्न लाग्ने समयको परीक्षणमा सबै कम्पनी सफल भएका छन्। यो समाचार अन्नपुर्ण पोस्टबाट लिएको हो ।
