काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ।

हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ।

अलपत्र हुलाकी राजमार्ग वीरगन्ज क्षेत्रअन्तर्गतका तियर पुल, जमुनी पुल, नाला–१ वीरेखोला पुल, नाला–२ पुल, नाला–३ पुल, वागमती पुलको पनि अख्तियारले अनुसन्धान थालेको छ। हुलाकी राजमार्गअन्तर्गत जनकपुरको घनकौल पुल र हर्कथया पुल, उत्तर–दक्षिण सडक योजनाअन्तर्गत कोसी खण्डको निर्माणाधीन आरसीसी पेभमेन्ट, कालीगण्डकी करिडोरको कागबेनी खोला पुलको पनि अनुसन्धान भइरहेको छ।

मध्यपहाडी लोकमार्गको खोरुंगा खोला पुल, खाङसाङ र सोखु खोला पुल, सिन्धुलीखण्ड र खोटाङखण्डको केही भागको निर्माण पनि अख्यितारको छानबिन दायरामा छ। अख्तियारले अलपत्र रुग्ण आयोजनाको विस्तृत विवरण मागिरहेको छ। कतिपय ठेक्का सम्झौता भएका आयोजनाका काम सुरु भएका छैनन्। ठेक्का लिएर ठेकेदार सम्पर्कविहीन छन्। ठेकेदारले ठेक्का लिएर मोबिलाइजेसनबापत् रकम लिएर काम नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियार स्रोतले जानकारी दिएको छ। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version