काठमाडौं: छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !, आजको नयाँ पत्रिकामा यो मुख्य खबर रहेको छ । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’

मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बुढो मान्छेले पनि त्यस्तो गर्छ र ’ भने ।

उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे । उनले आमालाई भनिन्, तर आमाले खासै वास्ता गरिनन् । मामा प्रहरीमा इन्स्पेक्टर थिए । भान्जीको कुरा सुनेपछि उनले पनि ‘यस्तो कुरा गर्दा बेइज्जत हुन्छ, बरु हामी सम्झाइदिउँला’ भनेर कुरा टुंग्याए । तर, बलात्कारको क्रम भने रोकिएन । बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गरेका थिए ।

आफ्नो कुरा कसैले पनि नसुनेपछि उनले विष खाएर आत्महत्याको प्रयास गरिन् । तर, उनी मरिनन् । अस्पतालको उपचारबाट अलि ठीक भएपछि असोजमा उनी बाबु र हजुरबुबाविरुद्ध उजुरी गर्न जिल्ला प्रहरी कार्यालय काभ्रे पुगिन् । घटना बाहिर आएलगत्तै हजुरबुबाले आत्महत्या गरे । छोरीलाई न्याय दिलाउन उभिनुको साटो आमाले भनिन्, ‘मैले अरू छोराछोरीलाई पनि हेर्नुपर्छ !’

जिल्ला अदालत काभ्रेले उनका बुबालाई १८ वर्ष कैदको फैसला सुनायो । पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दामा सर्वोच्चले पनि जिल्लाकै फैसला सदर गर्यो। बाबु जेल गए, तर आमा पराइ भइन् । राजधानीको एउटा गैरसरकारी संस्थाको संरक्षणमा रहेकी यी बालिका भन्छिन्, ‘आफ्नो भन्ने कोही छैन, जाने ठाउँ कहीँ छैन ।’..

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version