काठमाडौँ: सरकारले आजदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ ।
श्रमिकको भविष्य र उद्योगको लगानीको सुनिश्चित हुने भएपछि निजी क्षेत्रले योजनाको स्वागत गर्दै नेपालले श्रम क्षेत्रमा नयाँ युग प्रवेश गरेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गर्दै आजदेखि लागू गरेको हो ।
मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको सामजिक सुरक्षा योजना घोषणा कार्यक्रममा श्रमिकदेखि रोजगारदाता उल्सासपूर्वक सहभागी भएका थिए । योजनाअन्तर्गत अब श्रमिकले आजीवन निवृत्तिभरण पाउनेछन् र उद्योग व्यवसायमा पनि लगानी सुरक्षित भई गुणात्मक उत्पादन बढाउन सहयोग पु¥याउनेछ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले योजना लागू भएपछि नेपाल श्रम क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको बताइन । उनले योजनाले श्रमिक मात्र नभई हरेक नेपालीको जीवन प्रभावित बनाउने भएकाले सफल कार्यान्वयन गर्नुपर्ने बताइन ।
‘‘योजनाले श्रमिकको भविष्य सुरक्षित बनाउनाका साथै उद्योग–व्यवसायले पनि उत्पादनमा उल्लेखनीय वृद्धि हुनेछ,” उनले भनिन, “नेपालको श्रमबजार गतिशील र मर्यादित बनाउन यसले सहयोग पु¥याउँछ ।’’
सरकारले नेपालको संविधानको धारा, ४३ मा मौलिक हकअन्तर्गत रहेको सामाजिक सुरक्षा हकलाई कार्यान्वयन गर्नका लागिसमेत सामजिक सुरक्षा योजना ल्याएको हो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा नै काम गरेर खाने वातावरण सिर्जना गरेको बताए । उनले उद्योगी रोजगारदाताले पाँच कदम अगाडि बढेर योजना ल्याएको भन्दै यसको सफल कार्यान्वयनसँगै १० वर्षभित्रमा सबै नेपाली आफैँ व्यवस्थापक बन्ने दाबी गरे ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले रोजगारदाता र श्रमिकबीच सम्बन्धमा सुधार ल्याई व्यवस्थित उद्योग सञ्चालनमा सहयोग पु¥याउने बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने आधार खडा गरेको बताए। नेपाल रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले योजनाले आर्थिक अभावमा वैदेशिक रोजगारमा जानेलाई नेपालभित्र नै श्रमबजार उपलब्ध गराउने बताए ।
“योजनाले श्रमिकले वैदेशिक रोजगारमा कमाउने पैसा मुलुकमा नै कमाउने भएपछि उनीहरुको वर्तमान र भविष्य सुरक्षित गरेको छ,” उनले भने, ‘‘देशमा नै श्रममैत्री वातावरण तयार भएको छ । अब विदेशिनु पदैन ।” विसं २०७६ साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिक निवृत्तिभरण योजनामा सहभागी हुन पाउनेछन् ।
निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १८० महीना अर्थात् १५ वर्ष ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर पाउनेछन् । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । योजनाअनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुनेछ सोही रहमबाट श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।
नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले योजनाले नेपाली नेपालमा नै उचित पारिश्रमिक पाउनका लागि भौँतारिनुनपर्ने र वैदेशिक रोजगारमा समेत जानु नपर्ने बताए । उनले श्रमिक वर्गको जीवन सुधार ल्याउन योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै लोकल्याणकारी व्यवस्थाबाट मुलुकमा समाजवाद ल्याउन कडीका रुपमा योजना रहेको बताए । उनले सबै उद्योगी, ट्रेड युनियन र श्रमिक मिलेर सफल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष गणेश रेग्मीले नेपाली मजदूर सामाजिक सुरक्षाका लागि वर्षौंैदेखि लड्दै आए पनि अहिले मात्र माग पूरा भएको बताए । उनले कामबाट हट्दा खाली हात फर्कनुनपर्ने र आजीवन निवृत्तिभरण पाइने भएकाले श्रमिकको उचित मूल्याङ्कन गरिएको बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले योजनाले मुलुकमा उत्पादन वृद्धि र रोजगारी वृद्धिमा उल्लेखनीय योगदान गर्ने बताए ।
संयुक्त ट्रेड युनियन समन्वय समितिका महासचिव चिराकसिंह कुँवरले नेपालमा नै भनेजस्तो श्रमिकले सुविधा पाउने भएकाले रोजगारीका लागि लाखौँ नेपाली विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
समाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले श्रमिकले औषधोपचारदेखि आजीवन निवृत्तिभरण पाउने भएकाले श्रमले भविष्य नेपालमा रहेको बताए । श्रमिकले स्वास्थ्योपचार, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र आजीवन निवृत्तिभरण पाउनेछन । सामजिक सुरक्षा योजना लागू गरेको दिनलाई सरकारले हरेक वर्ष समाजिक सुरक्षा दिवस मनाउने भएको छ ।
