भक्तपुर (भादगाउँ): विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् ।

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उहाँलाई एड्स लागेको पत्ता लागेको लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनै जना एड्सबाट सङ्क्रमित छौँ ।”

श्रीमान्कै कारण परिवारलाई नै एड्स सरेपछि गाउँमा अपहेलित हुने डरले डेढ वर्षदेखि भक्तपुर बस्दै आएको लामाले बताउनुभयो । एड्सकै कारण दुई पटक गर्भपतन गरेकी लामाले श्रीमान्का कारण यस्तो काम गर्नुपरेको दुखेसो पोख्नुभयो ।

“मेरो श्रीमान्लाई यो रोग लागेको आठ वर्ष भइसक्यो । मैले दुई वर्ष अगाडि मात्र थाहा पाएँ । यो कुरा श्रीमान्लाई पहिलै थाहा थियो तर मैले छाडेर जान्छु भन्ने डरका कारण उहाँले नभन्नुभएको रहेछ ।

अहिले उहाँकै कारण मैले र छोराले दुःख पायौँ ।” उहाँले भन्नुभयो, “कहिलेसम्म बाँच्छु थाहा छैन, नियमित औषधि खाइरहेकी छु । मेरो श्रीमान् औषधि खान मान्नुहुन्न । अब धेरै बाँच्दिन भन्नुहुन्छ । निको हुने रोग होइन, भन्दै मदिरा सेवन गरी मातिएर बस्नुहुन्छ । छोरासँगै उहाँको लागि समेत जोहो गर्नुपर्छ ।”

त्यस्तै ताथलीकै इँटाभट्टामा मजदुरी गर्ने सीता तामाङ (नाम परिवर्तन) पनि श्रीमान्कै कारण एचआइभी सङ्क्रमित भएकी महिला हुन् । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि भारतबाट फर्केर आएपछि श्रीमान्कै कारण एड्स लागेको बताउने ४९ वर्षीया सीताका तीन छोरी छन् ।

दुई वर्षसम्म एड्सले सङ्क्रमित श्रीमान्को रेखदेखमै गाउँ बसेकी सीतालाई श्रीमान्को मृत्युपछि परिवारका सबै सदस्य मिलेर घर निकाला गरेको उहाँले दुखेसो पोख्नुभयो । उहाँले रुँदै भन्नुभयो “श्रीमान्को मृत्युपछि पनि जसोतसो गरी गाउँमै मजदुरी गरेर छोरी पाल्दै आएको थिएँ, पछि मेरै सासुका कारण त्यहाँको कामबाट हटाइयो र गाउँबाट समेत निकाला गरियो ।”

कान्छी र सीता त उदाहरण मात्रै हुन् । उहाँजस्ता एचआइभी सङ्क्रमित महिला परिवारको सहारामा बाँच्नुपर्नेमा मजदुरी गरेर बस्नुपरेको कति छन् । कुनै पनि सम्बन्धित निकायसँग तथ्याङ्क छैन । राज्यले नियमित औषधि र ल्याब परीक्षण सेवा निःशुल्क रूपमा दिएता पनि घरपरिवार र समाजको डरका कारण उहाँहरुजस्ता सङ्क्रमित महिला सेवा लिन डराउँछन् ।

असुरक्षित यौनसम्पर्क र सुइद्वारा नशा सेवन गर्ने व्यक्तिका कारण सर्ने यो रोगका बारेमा जनचेतना फैलाउन नसकेकै कारण एड्स लागेका मानिस खुलेर नआउने सरोकारवाला बताउँछन् ।

शुरुवात संस्थाका अध्यक्ष राजेश डिडियाले भक्तपुरमा कति सङ्क्रमित छन् त्यसको यकिन तथ्याङ्क नआएको बताउनुुभयो । समाजमा बेज्जती हुने डरले बाँच्ने आशासमेत गुमाएर लुकाएर बसेका हुन्छन् ।

पछिल्लो सयम जिल्लामा जम्मा १९१ सङ्क्रमित भएको तथ्याङ्क छ । तर यो पूर्ण होइन, उहाँले भन्नुभयो । त्यसमध्ये ४५ जनाले भक्तपुर अस्पतालबाट औषधि सेवा लिइरहेका छन् । १०० जनाले टेकु अस्पताललगायत काठमाडाँैका विभिन्न स्थानबाट औषधि सेवन गरिरहेका छन् ।

उहाँले पछिल्लो समय सङ्क्रमित युवाको आयआर्जनका लागि विभिन्न कृषि तालीम दिनुका साथै कृषि व्यवसाय गर्नेलाई केही पूँजीसमेत वितरण गर्दै आएको बताउनुभयो ।

भक्तपुर अस्पतालका एआरटी सेन्टरका काउन्सिलर सृष्टि अर्यालले १० महिलासहित ४५ सङ्क्रमित युवालाई अस्पतालले नियमित औषधि सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँले सङ्क्रमितलाई औषधिसँगै आवश्यक ल्याब परीक्षण सेवासमेत निःशुल्क रूपमा दिँदै आएको बताउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version