काठमाडौँ: भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत पबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन आफ्नो मुलुकले स्वीकार नगर्ने खुलाशा गरेका छन्।

इपिजीको कार्यकाल सकिएको ५ महिना बितिसक्दापनि प्रतिवेदन ग्रहण गर्न ढिलाई किन भारतीय प्रधानमन्त्री मोदीले ढिलाई गरिरहेका छन् भन्ने कुरा भाजपा नेता जोलीको यो भनाईले स्पष्ट पारेको छ। उनले प्रतिवेदन सार्थक नभएको आरोप लगाएका छन्।

इपिजीप्रति आक्रोस
‘ईपीजीको प्रतिवेदन तयार पार्ने क्रममा नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नै गरिएन’ शुक्रबार आयोजित साक्षात्कारमा जोलीले भने, ‘नागरिक समाज, पत्रकार, राजनीतिकर्मी, शिक्षाकर्मी, उद्योगपतिको तहमा प्रतिवेदन निर्माणबारे कुनै छलफल गरिएन।’

यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता नभएको बताउँदै उनले नेपाली सञ्चारकर्मीहरुसँग प्रश्न गरे, ‘के तपाईंहरुसँग पनि इपिजीले कुनै राय लिएको थियो त?’

नेपालको प्रसंशा
पूरा विश्वले नेपाललाई प्यार गरिरहेको सुनाउँदै उनले आफूहरुले पनि नेपाललाई त्यतिकै माया र सम्मान गरिरहेको सुनाए। नेपालीहरु विश्वभरि नै मेहनती, सफल, काम गर्नेवाला, अघि बढ्नेवाला र विकासको पथमा हिँड्नेवाला भनेर चिनिएको भन्दै जोलीले प्रशंसामा आफ्ना शब्द खर्चिए ।

अहिलेपनि भारतीय सेनामा ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै जोलीले नेपाली गोरखालीहरुको वीरताको गाथा सुनाए। त्यतिमात्रै नभएर ब्रिटिश सेनामा पनि ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै उनले विश्वभरि नै यसले नेपालको अस्मिता र प्रवुद्धतालाई दर्शाएको विश्वास दिलाए।

‘जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार बनेपनि मेरो एकमात्र जोड नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने हो’ उनले थपे, ‘म नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने कुराको पक्षधर हुँ, अहिलेपनि म यही काममा लागिरहेको छु।’

नेपालमा एउटा बम पड्कियो भने यसको महशुस दिल्लीमा पनि हुने बताएका उनले भारतको एकमात्र स्वार्थ शान्तिप्रिय र विकासशील नेपाल भएको दावी गरे। ‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन’ उनले भने, ‘अहिले हामीबीच राजनीतिक–सांस्कृतिक वार्तालाप भइरहेका छन्।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version