काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र गरीबी निवारण अभियानमा सहभागी हुन लघुवित्त संस्थालाई अपिल गरेका छन् ।

आजदेखि यहाँ शुरु भएको दोस्रो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “शहरी र चक्रपथभित्रभन्दा पनि ग्रामीण क्षेत्रमा लघुवित्त संस्था जानुपर्छ ।”

प्रधानमन्त्री ओलीले लघुवित्त न्यून आय भएका र गरीब जनताको हितका लागि स्थापना भएको संस्था रहेको बताउँदै “महङ्गो ब्याजमा पैसा लगाउने लघुवित्त हुन सक्दैनन्, सञ्चालकको रुचि होइन, लक्षित समूहको हित हेर्नुपर्छ, उनीहरुलाई सेवा दिनुपर्छ”, भने ।

सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघुवित्तको ठूलो योगदान हुने बताउँदै उनले साना लगानीबाट ठूला उद्यम भएका उदाहरण थुप्रै छन् भने ।

प्रधानमन्त्री ओलीले सुगमदेखि दुर्गमसम्मको सहभागिता रहेकाले लघुवित्तका सदस्य समृद्ध र सुखी भए गरीबीको समस्या आधा हल हुने विश्वास व्यक्त गर्दै लघुवित्तको विकासलाई बाधा पर्ने कुनै कानून भए सरकार संशोधन गर्न तयार रहेको बताए ।

“कुन कारणले कसरी अप्ठ्यारो परेको छ, सम्मेलनबाट सुझाव दिनुहोस्”, उनले भने, “सरकार लघुवित्तलाई सहयोग गर्न बसेको छ ।”

प्रधानमन्त्री ओलीले विभिन्न षड्यन्त्रबाट आएका शासकबाट जनता लामो समय शासित हुनुपरेकाले विकास हुन नसकेको उल्लेख गर्दै अहिले मुलुकमा स्पष्ट दृष्टिकोण र जनताको माया गर्ने सरकार रहेको धारणा व्यक्त गरे ।

ठूला अन्तर्राष्ट्रिय सम्मेलन भएको, दुवै छिमेकीसँगको सम्बन्ध सन्तुलित भएको उल्लेख गर्दै उनले मुलुक तीव्र्र विकासको गतिमा अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले विगतदेखि नै पूरा गर्नसक्ने कुरा मात्र आफूले बोल्ने गरेको उल्लेख गर्दै आफूले बोलेका कुरा समय क्रममा पूरा हुने विश्वास व्यक्त गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version