काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम तत्काल प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण प्रक्रियामा केही अवरोध आएपछि मन्त्री पुनले आज त्यस्तो निर्देशन दिएका हुन् । मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि, भारतीय ठेकेदार टेक्सम्याको रेलवे इञ्जिनियरिङलाई राखेर आयोजनामा देखिएको समस्यालाई तत्काल समााधन गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

आजको छलफलमा मन्त्री पुनले कामको गति बढाउन निर्देशन दिनाका साथै निर्माण कम्पनीलाई सात दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएका छन् । “अब समय थप्ने काम हुँदैन, गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौँ, आयोजनाको काम कहाँ कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस्,” मन्त्री पुनले भने ।

समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनीसमेत मन्त्री पुनले दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित ऊर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतिका बारेमा जानकारी लिन दोलखा पुगेका थिए । उनले आयोजनामा देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिँदै आएका छन् । टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसीमाभित्रै खाका बुझाउने प्रतिबद्धता जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version