काठमाडौं: काठमाडौंको न्युरोडस्थित धर्मपथमा अवस्थित एयरटेल सहकारी संस्थाका बचतकर्ताको ८ करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा प्रहरीले त्यसका प्रबन्ध निर्देशक अशोक गोयललाई सोमबार साँझ पक्राउ गरेको छ।
गोयल धनुषाका स्थायी वासिन्दा भएपनि काठमाडौं बस्दै आएका छन् । उनलाई न्यूरोडबाट पक्राउ गरी ठगी मुद्दामा ५ दिनलाई म्याद लिएर छानबिन भइरहेको, प्रहरी परिसरका प्रवता होबिन्द्र बोगटीले बताए।
संस्थाकी अध्यक्ष एवं प्रबन्ध निर्देशक गायलकी श्रीमती सुमन केडियासहित घटनामा संलग्न ५ जना अझै फरार छन् ।
बोगटीका अनुसार पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धान थालिएको बताए।
‘पीडितले सहकारीमा हिनामिना भयो भनेर उजुरी दिएका छन्’, बोगटीले भने, ‘सहकारी डिभिजन कार्यालयमा पनि उनीहरुले कारबाहीका लागि निवेदन दिएका रहेछन् । त्यहाँबाट पनि हामीलाई पत्राचार भएपछि एक जनालाई नियन्त्रणमा लिएका छौं ।’
एयरटेल संस्थाबाट ठगिएको भन्दै उजुरी दिनेको संख्या अहिले ३० जना पुगिसकेको छ । उजुरी दिनेहरुमा अधिकांश माडवाडी समुदायका व्यवसायी छन् । उजुरी दिने केहीमा अशोक वंशल, सिमा वंशल, सारिका जैन लगायत छन् ।
