काठमाडौँ: राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङ निर्माणमा भइरहेको कामको स्थलगत अवलोकन गरेको छ ।

समितिका सभापति दिलकुमारी रावलको नेतृत्वमा भएको अवलोकनमा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलगायत समितिका सदस्यको सहभागिता थियो ।

अवलोकनसँगै सुन्दरीजलमै समितिले मेलम्ची खानेपानी विकास समितिसँग अन्तरक्रियासमेत गरेको छ । सो अवसरमा सभापति रावलले आयोजनाको काम निष्कर्षमा नपुगेसम्म निरन्तर रुपमा समितिले पछ्याइरहने बताए ।

मेलम्चीको पानी राजधानी आउने मिति पटकपटक सरेकाले समितिले सरोकार भएका सबै निकायलाई एकै ठाउँमा राखेर बैठक गर्ने उनले जानकारी दिए ।

नेकपा संसदीय दलका नेता शर्माले बालाजु आवास क्षेत्रमा १४ वर्षदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्ने पानी नआएको बताउँदै आयोजनाको समयावधि बढाएर धेरै पैसा कमाउने खेलमा केही लागेकाले पानी समयमै आउने वातावरण नबनेको धारणा व्यक्त गरे ।

काङ्ग्रेस संसदीय दलका नेता पाण्डेले मेलम्ची आयोजनाका अधिकारीको प्रस्तुति हेर्दा छिटोमा पानी आए अझै एक वर्ष लाग्ने देखिएको छ भने ।

मेलम्ची आयोजनाका बारेमा पहिलोपटक छलफल गर्न बोलाइएको बैठकमा खानेपानीमन्त्री विना मगर अनुपस्थित रहेकोमा उनले गुनासो गरे ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले एक हजार ७०० मिटरमात्र सुरुङ ढलान गर्न बाँकी रहेकाले अबको दुई महीनामा ढलानको काम सक्ने प्रतिबद्धता व्यक्त गरे ।

गत असोज ११ गते बसेको समितिको बैठकमा मेलम्ची आयोजनाका बारेमा छलफल गरिएको थियो भने असोज १४ गते आयोजनाको मुहान क्षेत्र अम्बाथानको समितिले स्थलगत अध्ययन भ्रमण गरेको थियो । त्यसबेला आयोजनाका अधिकारीले दुई महीनामा पानी सुन्दरीजलमा झार्ने वाचा गरेपनि पूरा नभएको भन्दै सांसदहरुले पानी ल्याउन सकिने मितिमात्र घोषणा गर्न माग गरेका थिए ।

सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई परीक्षण सम्पन्न भइसकेको छ । अर्को आठ करोड ५० लिटर प्रशोधन केन्द्र आगामी चैतमा निर्माण सक्ने आयोजनाको लक्ष्य छ । यो प्रशोधन केन्द्रमा प्रशोधित हुन पानी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड बमोजिमको हुने आयोजनाले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version