काठमाडौँ: विदेशी ऋण लिँदा राष्ट्रिय प्राथमिकताको क्षेत्र, लागत लाभ र दाताको सर्तको मूल्यांकनका आधारमा मात्र ऋण स्विकार्ने नीति अख्तियार गर्ने कांग्रेसको भनाइ छ । जलवायु परिवर्तनको असर, व्यापार र पारवहनको स्थितिलाई मध्यनजर गरी राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखेर आर्थिक कूटनीति सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व छाड्दा २५७ अर्ब राज्य कोषमा नगद जम्मा भए पनि सरकारले श्वेतपत्र जारी गर्दा तोडमरोड गरेको आरोप लगाएको छ । बुधबार केन्द्रीय समितिमा पेस गरिएको ‘समग्र आर्थिक नीति प्रस्ताव’मा सरकारले सत्यतथ्यलाई बंग्याएको दाबी गरिएको छ ।

केन्द्रीय समितिले पास गरेपछि उक्त प्रस्ताव २८ मंसिरबाट सुरु हुने पार्टी महासमिति बैठकमा पेस गरिनेछ । ‘वर्तमान सरकारले प्रस्तुत गरेको श्वेतपत्रले सत्यतथ्यलाई तोडमरोड गरेको छ’ सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ ‘कांग्रेस नेतृत्वको देउवा सरकारले सफलतापूर्वक निर्वाचन मात्र सम्पन्न गरेन, सरकार छाड्दा रु. २५७ अर्ब राज्य कोषमा नगदसमेत बचत गरेको देखिन्छ ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले १६ चैत ०७४ मा श्वेतपत्र जारी गर्दा चालू आर्थिक वर्षको बजेटमा एक खर्ब दुई अर्ब ७३ करोड ६२ लाख कोषको सञ्चिति रहने अनुमान गरी स्रोत आकलन गरिएकोमा आर्थिक वर्षको अन्त्यमा ४८ अर्ब ६१ करोड सञ्चिति घाटा देखिएको उल्लेख गरेका थिए । विश्व बैंकको प्रतिवेदनलाई हबाला दिँदै कांग्रेसले अहिले व्यापार घाटा बढेको, विदेशी मुद्राको सञ्चिति घट्दै गएको र आफू नेतृत्वको सरकार रहेका वेलाभन्दा लगानी गर्ने वातावरण अहिले खस्केको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रतिवेदनमा सरकारको आर्थिक नीतिको आलोचना गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version