काठमाडौँ: सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको दाबी गरेकी छन् ।

राउतले शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नुपरेको खुलासा गरेकी हुन । उनले भनिन्,‘म ललिता राउत हुँ, २०६१ मंसिरमा मेरो विवाह भएको थियो, एउटी महिलालाई विवाहपछि बच्चा हुनुपर्छ भन्ने ठूलो चाहना हुन्छ, त्यो चाहनाबाट बञ्चित बनाइयो । मलाई बच्चा चाहियो भने तर उहाँ साँझमा मात्र घरमा आउनुहुन्थ्यो । जहिले पनि पार्टी, मिटिङ यस्तै यस्तै भनेर समय बिताउनुहुन्थ्यो ।’

उनले अघि थपिन्, ‘बच्चाको बारेमा दाजुभाउजुसँग कुरा गरें, उहाँहरुले मान्नुभएको थिएन । तर, पछि बल्लतल्ल मान्नुभयो, दुःख गरेर बच्चा मागे, हुर्काए केही समयपछि बच्चाको जन्मदर्ता गराउनु पर्ने भयो, त्यसमा आमाको नाम, बाबुको नाम चाहिनेभयो, त्यसबेला मैले बाबुको नाम प्रकाशमान सिंह राउत र आमा ललिता कुमारी राउत नाम दिएँ ।’

ललिताले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘ममाथि भएको अन्यायलाई वास्तविक बुझि छानविन गरी, दोषीलाई कारबाही गरी मैले कानूनबमोजिम पाउनुपर्ने अधिकार तथा न्याय दिलाउनको लागि सहयोगको आवश्यक भएको महसुस गरेकी छु ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको श्रीमती भएर पनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारण नागरिकहरुले न्यायको आशा कसरी गर्न सक्लान ? यो विषयमा सोच्नुपर्ने विषय भएको छ ।’

राउतले भनेकी छन्,‘यो घट्नाको विषयलाई व्यवस्थापिका संसदमा पनि बहसको विषय बनाउन म विन्रम अनुरोध गर्दछु, महिलामाथि यति ठूलो जालझेल र षड्यन्त्र भएको छ, यसको कारण के हो ? एउटा श्रीमतीले श्रीमानबाट पाउनुपर्ने कर्तव्य र अधिकार के हो ? यो प्रश्नको उत्तर दिनुपर्दैन होला, मेरो श्रीमानबाट श्रीमतीले पाउनुपर्ने सामाजिक दायित्वबाट निक्कै समय अगाडिदेखि बञ्चित छु, र बिनाकारण म र मेरा आफन्तहरुलाई हिरासतमा लिने, मानसिक यातना दिनेजस्ता घृणित कार्यहरु भैरहेका छन् ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version