काठमाडौँ: संघीय र प्रदेश सरकार गठन भएको ९ महिनापछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरू संलग्न हुने अन्तर प्रदेश परिषद्को बैठक पहिलो पटक आज सिंहदबारमा बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् ।
आज बस्ने बैठकले संघ र प्रदेशबीच कैयन् विषयमा देखिएका मतभिन्नताहरूको समाधान खोज्ने तथा दुई सरकारबीच विकास तथा अन्य काममा समन्वयको बाटो पहिल्याउने प्रयास गर्नेछ।
लामो समयदेखि परिषद् बैठक बस्न नसक्दा केन्द्र र प्रदेशबीच कैंयन् विषयहरू उल्झिदै गएका छन्।
कर्मचारी व्यवस्थापन, बजेट, विकासका कार्यक्रम, प्रहरी र प्रशासनको सञ्चालनजस्ता विषयमा संविधानले तोकेको आफ्नो अधिकार कार्यान्वयन गर्ने बाटो नखोलिदिएको भन्दै प्रदेश सरकारहरूले केन्द्र सरकारको आलोचना गरेका छन्।
प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यो बैठक बोलाएका हुन् ।
