काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विशुद्ध पत्रकारले बाहेक अन्य क्षेत्रमा कम गर्नेहरुले पनि प्रेस पास लिएको र त्यसको दुरुपयोग गर्दै हिंडेको बताएका छन्।
निजीको मात्रै के कुरा गर्नु कुनै कुनै सरकारी संस्थाका केहि कर्मचारीलेसमेत प्रेस लिएको भेटिएको छ यो किन भयो? मन्त्री बाँस्कोटाले बुधबार आयोजित सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रश्न गरे।
उनले सो टिप्पणी सूचना तथा प्रसारण विभागको प्रगति समीक्षाप्रति गरेका थिए।
“सम्बन्धित सञ्चारमाध्यमको सिफारिशमा विशुद्ध पत्रकारलाई मात्रै पत्रकार दुर्घटना बीमा गर्नुहोस, पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ लागु गर्न सम्बद्ध निकायलाई निर्देशन दिँंदै जसरी भए पनि कार्यान्वयन गर्नैपर्छ, विभिन्न भत्ता जोडेर रु २४ हजार ५०० बनाइएको पाइएको छ, विशुद्ध पारिश्रमिक नै २४ हजार ५०० हुनु पर्छ,” उनले भने।
नेपाल दूरसञ्चार प्राधिकरणको प्रगति समीक्षाका विषयमा मन्त्री बाँस्कोटाले सेवामा गुनासो आइरहेकाले सुधार गर्न निर्देशन दिनुभयो । उनले अश्लील साइट भए तत्कालै नियन्त्रण गर्न निर्देशन दिए। प्राधिकरणले अहिलेसम्म २५ हजार बढी यस्ता साइट बन्द गरिसकेको जनाइएको छ ।
इण्टरनेट वितरण गर्ने निजी कम्पनीमाथि निगरानी जरुरी रहेको उहाँको भनाइ थियो । “नागरिक ठगिन नपाओस्, योजना बनाएर लाग्नुस्,” मन्त्री बाँस्कोटाले भनें, “यस्ता कम्पनीहरुलाई स्पष्टीकरणको प्रक्रियामा ल्याएर आवश्यक परे निलम्बनसमेत गर्नुपर्छ ।”
बैठकमा प्रेस काउन्सिल नेपालले दर्ता नभएका र अज्ञात ठाउँबाट सञ्चालन भएका अनलाइनले बढी आचारसंहिता उल्लङ्घन गरेको जानकारी दिको थियो । मन्त्री बाँस्कोटाले यस्ता अनलाइनलाई बन्द गराइने बारे सूचना जारी गर्न प्रेस काउन्सिललाई निर्देशन दिए। नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता साइट तोकिएर आए पाँच मिनेटमा बन्द गर्न सकिने जनाएको छ ।
