काठमाडौं: पछिल्लो केहिदिनदेखि अमेरिकी डलरसामू नेपाली रुपैयाँ पुन:कमजोर हुने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ डलर बराबर ११५ रुपैयाँ बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ कमजोर भएका कारण यसको असर नेपालमा परेको हो । पछिल्लो १० दिनमा प्रति अमेरिकी डलर बराबर ३ रुपैयाँ ३५ पैसाले रुपैयाँ अबमूल्यन भएको छ ।
मङ्सिर १७ गते १ डलर बराबर १११ रुपैयाँ ६५ पैसामा झरेको थियो । असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो ।
डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्राको अवमूल्यन हुदै गएको हो । भारुसँग नेपाली रुपैयाँ फिक्स भएपछि भारतीय मुद्राको अवस्था जे हुन्छ, त्यसको असर नेपाली मुद्रामा पनि पर्ने गरेको छ । भारु मजवुत भए नेपाली रुपैयाँ पनि मजवुत हुन्छ ।
रिजर्भले बैंक अफ इंडियाका गभर्नरले एक्कासी पदबाट राजिनामा दिंदा भारतामा लगानीकर्ताको विश्वास कम हुँन जाँदा भारू कमजोर भई डलर मजबुत हुन गएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।
भारत सरकार र भारतीय केन्द्रीय बैंक ( रिजर्भले बैंक अफ इंडिया) भएको विवादले गर्दा लगानीकर्ता डलर होल्ड गर्न थाले जसले गर्दा भारतीय रुपैयाँ डलरसामू कमजोर हुदै गएकोले यसको असर नेपाली रुपैयाँमा परेको उनले बताए ।
हालसालै, भारत सरकार र भारतीय केन्द्रीय बैंक भएको विवाद मिलेकोले गर्दा भारतीय रुपैयाँ मजबुत हुदै गएको थियो भने पुन: विवाद हुँदा यसको असर फेरी देखिएको उनले बताए ।
