गौर: ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले सुनकोशीको पानीले तराई क्षेत्रमा सिँचाइ गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन । नारायणी नहर, बकैया र वाग्मती बाँध, पतौरा शवस्टेशन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण पछि रौतहट कटहरियामा आज आयोजित जनसभामा उनले भने, “सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने योजना सरकारले अगाडि बढाएको छ ।”

मन्त्री पुनले सुनकोशीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिण हँुदै वाग्मती नदीमा झारेर मध्यतराईका रौतहट, बारा र सर्लाही जिल्लाको जग्गामा सिँचाइ गर्ने योजनाअनुसार काम भइरहेको उल्लेख गर्दै यसका लागि डिपिआरको काम अन्तिम चरण पुगेको जानकारी दिए ।

“यो योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ”, उनले भने, “वाग्मती र लाल बकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न प्रयास भइरहेको छ ।”

मन्त्री पुनले दुवै नदीको तटबन्ध निर्माणमा सरकार गम्भीरतापूर्वक लागेको चर्चागर्दै विगतको बाढीका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको यथाशीघ्र पुनःनिर्माण हुने बताए ।

नेकपाका प्रदेश नं २ का अध्यक्ष तथा सांसद प्रभु साहले राष्ट्रिय अर्थतन्त्रको विकासमा ठूलो योगदान गरेको मधेश पछिल्लो दिनमा राजनीतिक द्वन्द्वका कारण मानव विकास सूचकाङ्कमा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै मधेशको विकास र समृद्धिका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्री पुनलाई रौतहट कटहरिया नगरपालिकाले १०५ किलो र स्वर्णकार समाज रौतहटले १०५ किलो गरी २१० किलोको माला लगाएर सम्मान तथा स्वागत गरेको थियो ।

नेकपा रौतहट क्षेत्र नं ३ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कटहरिया नगरपालिकाका कार्यवाहक नगरप्रमुख नुरजहा खातुनले बाढीबाट यस क्षेत्रमा पार्ने प्रभावलगायतका समस्याका बारेमा जानकारी गराए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version