काठमाडौँ : म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।

धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैरआवासीय नेपालीसँगै स्थानीयवासीको समेत लगानी हुनेछ ।

मालिका गाउँपालिका–६ दुखुवेँसी (बलौटे) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले आयोजनाको विद्युत्गृहको शिलान्यास गरे । स्थानीय सात बीम, देवीस्थान र धारापानीको सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

रु पाँच अर्ब १५ करोड लागत रहने आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानी रहने कम्पनीका प्रबन्ध निर्देशक हर्कमान घर्तीले जानकारी दिए ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तिनाथ र ओम डेभलपमेण्ट बैंकसँग वित्तीय व्यवस्थापनको लागि सम्झौता भइसकेको दरबाङ कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए ।

“यो आयोजनामा सबै म्याग्दीवासीको लगानी रहोस् भन्ने उद्देश्यले लगानीको दायरालाई फराकिलो बनाएका छौँ, स्वदेशदेखि प्रवाससम्म भएका सबै म्याग्देलीलाई लगानीको लागि आह्वान गरेका छौँ, सबै म्याग्दीवासीको लगानीमा समयमै निर्माण कार्य सम्पन्न गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष कुुँवरले भने ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाका पूर्वअध्यक्ष एवं म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा निर्माण गर्न लागिएको आयोजनामा स्थानीयवासीसँगै प्रवासीलाई समेत लगानीको लागि आह्वान गरिएको छ ।

आयोजनामा कूल पाँच दशमलव पाँच किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई १०० मिटर हेडबाट दुखुवेँसी (बलौटे)मा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई २९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको दाना सवस्टेशनमा जोडिने छ । प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता भइसकेको आयोजनाबाट वार्षिक १५० गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । हिउँदमा चार महीना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महीना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद बिक्री हुने सम्झौता भएको छ ।

आयोजनाको शिलान्यास गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले जलविद्युत्को क्षेत्रको विकासले मुलुकको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बताउनभयो । प्रवासमा रहेका म्याग्दीवासीको अगुवाइमा निर्माण हुन लागेको यस आयोजनाले विदेशमा आर्जन गरेको स्रोत, साधन र सीपलाई स्वदेशमै उपयोग गर्नुपर्ने सन्देश दिएको मन्त्री थापाले बताउनुभयो । सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारले जलविद्युत् क्षेत्रको विकासमा लागिपरेको उनले जानकारी दिए ।

कार्यक्रममा म्याग्दीका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले यस आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नको लागि आइपरेका समस्यालाई हल गर्ने कार्यमा सबै सरोकार भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, पूर्वसभासद् नवराज शर्मालगायतले निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न गर्न शुभकामना दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version