काठमाडौँ:  पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।

डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले राससलाई जानकारी दिनुभयो । “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भन्नुभयो ।

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुग्नुभएको थियो ।

विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा गिरी बन्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि उहाँका परिवारले मानेका थिएनन् । मङ्गलबार बिहान ९३ वर्षको उमेरमा उहाँको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बन्नुभएको थियो । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गर्नुभएका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय हुनुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version