काठमाडौं : मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।

सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन्। अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ। तर कूटनीतिक पहल भए अनुसन्धानमा सहयोग गर्ने सन्देश भारतले दूतावासमार्फत नेपाल सरकारलाई पठाएको छ। यसबाट सुन तस्करीको अनुसन्धान प्रभावित हुने देखिएको छ। यसबारे कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भारतीय अधिकारीसँग गत मंगलबार छलफल गरेका थिए।

भारतमा बरामद सुन चूडामणि उप्रेती ‘गोरे’ को समूहले २०७४ माघ ९ गते काठमाडौँ भित्र्याएपछि हराएकै भएको गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समिति बताउँछ। जेलमा रहेका गोरेको पुरानो सेल्टर सिलगुढी क्षेत्र भएकाले त्यहीँबाट यो सुन कोलकाता पुर्‍याइएको दाबी समितिको छ।

‘कोलकातामा बरामद भएको सुनमा पनि ‘दुबइ हलमार्क’ छ। खाडी मुलुक हुँदै त्रिभुवन विमानस्थलबाट पछिल्लो समय सुन नभित्रिएकाले हाम्रो निचोड त्यही सुन हो भन्ने छ,’ छानबिन समितिका एक सदस्यले भने, ‘तर भारतीय निकायले बरामद गरेकाले अनुसन्धानमा समस्या छ। भारतीय पक्षले यो सुन र पक्राउ परेका नेपालीमाथि अनुसन्धान गर्न दिल्लीको आदेश चाहिने जानकारी दिइसकेको छ।’ यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version