काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक लेनदेनका अडियो टेप सार्वजनिक गरेका हुन् । अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ । पत्रकार सम्मेलनमा काठमाडौँ अध्यक्ष विराटजङ्ग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले अनियमितताको अडियो टेप आफूहरुसँग सुरक्षित रहेको र उक्त अडियो फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)लाई उपलब्ध गराउने बताए ।

एन्फाको नयाँ कार्यसमितिको निर्वाचन गत वैशाखमा सम्पन्न भएको थियो । सो निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष चुनिएका थिए । सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै यसअघि एन्फाका पूर्ववरिष्ठ उपाध्यक्ष मणि कुँवरले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

यसैबीच एन्फा प्रवक्ता किरण राईले चारवटा जिल्ला फुटबल सङ्घले लगाएको आरोपमा कुनै तुक नभएको बताए । “आफ्नो काम छोडेर आफू मातहतको नेतृत्वलाई उहाँहरुले जुन आरोप लगाउनुभएको छ, त्यो गम्भीर छ, आरोपको हामी भत्र्सना गछौँ”, उनले भने । मतदातालाई पैसा बाढ्यो भनेर मतदाताको घोर अपमान गरेको बताउँदै उहाँले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए । उनले भने, “आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित गर्न सक्नुभएन भने उहाँहरुमाथि कारवाही गर्छौं ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version