काठमाडौँ : गैरआवासीय नेपालीले नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा गैरआवासीय नेपाली संघका प्रतिनिधिले नागरिकता दिने व्यवस्थालाई सहज र सरल बनाउन आग्रह गरेका हुन् ।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागिसमेत सरकारले गैरआवासीय नेपालीलाई त्यही अनुरुपको व्यवहार गर्नुपर्नेमा जोड दिए ।

नेपालको संविधानमा सङ्घीय कानूनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘नेपालको गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सकिने प्रावधान छ ।

संविधानको उक्त प्रावधान लागू गर्ने लक्ष्यका साथ गृह मन्त्रालयले संघीय संसद्मा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गराएको छ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्री सहयोग संगठन(सार्क)का सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशज वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक भए पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले अन्य नेपाली नागरिक सरह नागरिकता पाउनुपर्ने सङ्घको मान्यता रहेको समितिमा जानकारी गरायो ।

सङ्घका संरक्षक उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका आमा वा बाबुका सन्तानले पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनमा नै राख्नुपर्ने सुझाव दिए ।

उनले नागरिकता लिन चाहने व्यक्तिले विदेशस्थित नेपाली कूटनीतिक नियोग वा सम्बन्धित जिल्ला कार्यालयबाट नागरिकता दिने व्यवस्था गर्न, निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपाली नागरिक रहेको प्रमाण पेश गर्ने व्यवस्था गर्न आग्रह गरे ।

समितिको बैठकमा सांसदले नेपालको आर्थिक विकासको सहयात्रीका रुपमा गैरआवासीय नेपाली नागरिकलाई सहभागी गराउन खोजिएकाले राजनीतिक अधिकार बाहेकको नागरिकता दिन सकिने बताए ।

सांसद पम्फा भुसाल, राजेन्द्र श्रेष्ठ, दीलेन्द्रप्रसाद बडू, प्रेम सुवाल, कृष्णभक्त पोखरेल, सूर्य पाठकलगायतले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मान्यताका साथ सहजरुपमा नागरिकता दिनुपर्नेमा जोड दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version