काठमाडौं: सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा जम्मा भएको ७५ लाख अमेरिकी डलरको भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

उद्योगले मागेका बेला भुक्तानी दिन राष्ट्र बैंकका नाममा मंगलबार अल्पकालीन अन्तरिम आदेश भएको हो। सर्वोच्चले रोक्का गरिएको खाता पुस २४ सम्मका लागि सञ्चालन गर्न छुट दिएको छ। त्यस दिन राष्ट्र बैंक र मुक्तिश्री सिमेन्टका दुवैलाई छलफलका लागि बोलाइएको छ। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।

खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५लाख रुपैयाँ ) राष्ट्र बैंकले रोक्का गरिदिएको थियो। उद्योगका लागि जम्मा गरेको रकम रोकेकाले उद्योग नै धराशयी हुन लागेको दाबीसहित सर्वोच्चमा रिट निवेदन परेको थियो। सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशसँगै अब सो रकम सुमार्गीले निकाल्न पाउने भएका छन्।

मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने देखिएकाले त्यसका लागि पुस २४ को पेसी तोकिएको छ। यो समाचार नागरिक दैनिकमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version