काठमाडौँ: नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरिएको छ ।

काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन शुरु गरेको हो ।

प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए । फ्रान्सबाट कालिजको अण्डा ल्याई यहाँ ह्याचरी गरी कालिज पाल्न थालिएको बताउँदै उनले फ्रान्सबाट ल्याएका १० हजार २७५ अण्डामध्ये ह्याचारीका माध्यमबाट करीब चार हजार चार सय बच्चा उप्पादन भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य दिलु पन्त, युवा सङ्घ नेपालका महासचिव नरेश शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, दीपक दुवाडी, बाबुराम श्रेष्ठ र ज्ञानेन्द्र तिमिल्सेनाले उक्त फार्ममार्फत कालिजपालन गरेका हुन् ।

करीब एक करोड ५० लाख लगानीमा ११ रोपनी क्षेत्रफलमा कालिजपालन व्यवसाय शुरु गरिएको छ । जेठदेखि पालन शुरु गरिएको कालिज अहिले खानयोग्य भएका छन् । ‘‘करीब ६ महीना पालेपछि कालिज अहिले दुई किलो २५० ग्रामसम्म भएका छन्,” अध्यक्ष भट्टराईले भने, “हामीले खानका लागि बिक्री वितरण गर्दै आएका छौँ ।” अहिले एक महीनादेखि प्रतिकालिज तीन हजार ५०० रुपैयाँका दरले बिक्री वितरणसमेत हँुदै आएको छ । अहिले दैनिक २० वटा दरले फार्म र काठमाडौँमा रहेका कालिज रेस्टुरेन्टबाट बिक्री भइरहेको छ ।

युवा सङ्घको सचिव हुँदा इटाली गएको बेला ‘रैटी’ भन्ने ठाउँमा रहेको कालिज फार्म हेरेपछि नेपालमा पनि यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको शाहीले बताए । ‘‘जैतुन खेतीको अध्ययन गर्न इटाली गएको थिएँ,’’ उनले भने, ‘‘त्यहाँबाट फर्किंदा साथीहरुको अनुरोधमा कालिजको फार्म हेर्न गयौँ, अनि नेपालकै जस्तै वातावरणमा कालिजपालन गरेको देखेर यहाँ कालिज पाल्न शुरु गरेका हाँै ।’’ कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि राम्रो हुने गरेको छ ।

शाहीले शुरुमा कालिजपालनका लागि प्रयास गरे तापनि नेपालका कानूनले दिएन । संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेपछि यसको पालन शुरु गरेको उनले बताए । कम्पनी रजिस्ट्रार कार्यालयमा फार्म दर्ता गरेर कृषि मन्त्रालयको अनुमति लिई अहिले कालिज पालन गरेको उनको भनाइ छ ।

कालिज हेर्नका लागि फार्ममा दैनिक सयभन्दा बढी मानिस आउने गरेका छन् । ‘‘हामीले कालिजको कुरा गरेपछि कालिज पाइन्छ भनेर मानिसहरुले सोध्ने गरेका छन्,’’ शाहीले भने, ‘‘अनि ती मानिसलाई हामीले फार्म नै लगेर कालिज देखाउने गरेका छौँ, मन परेका मानिसले फार्मबाट नै मासुका लागि किनेर लैजान्छन् ।’’

शुरुमा बचाउन मुस्किल परेका कालिज अहिले भने पाल्न सजिलो भएको फार्मका इन्चार्ज धिरेन्द्र शाही बताउनुहुन्छ । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

चन्दा मागेर राजनीतिक गर्नुभन्दा आफैँ व्यवसाय सञ्चालन गरेर राजनीति गर्न आफूहरुले कालिज व्यवसाय सञ्चालन गरेको नेकपाका केन्द्रीय सदस्य पन्तले बताए ।

उक्त समूहले कालिजको मासुको विभिन्न परिकारका लागि बागबजारमा ‘कालिज रेस्टुरेन्ट’ सञ्चालन गरेको छ । यही पुसदेखि सञ्चालनमा आएको रेस्टुरेन्टमा कालिजको सेकुवा, तास, सुप, ममलगायत परिकार खान पाइन्छ । रेस्टुरेन्टमा नै कालिजको बिक्री वितरणसमेत हुने गर्दछ ।

रेस्टुरेन्टमा दैनिक सयभन्दा बढी मानिस कालिजको परिकार खान आउने गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । कालिजको मासु खोजेर खानका लागि रेस्टुरेन्टले उपयुक्त भएको उनको भनाइ छ । कालिज विशेषगरी अरूलाई उपहारका रुपमा दिनका लागि किन्ने गरेको पनि उनले बताए ।

यसैगरी शाहीले काठमाडाँैका विभिन्न ६ ठाउँमा ‘कालिज रेस्टुरेन्ट’ विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version