काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले संसद् र नेपाली काङ्ग्रेसमा व्यक्तिगत स्वार्थ हावी हुँदै गएकाले मुलुकले विकासको गति लिन नसकेको बताए । “व्यक्ति र राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हावी हुनु मुलुकका लागि राम्रो होइन”,उनले भने।
नेता सिटौलाले काङ्ग्रेसले यसअघि धेरै समय सत्ता चलाएको छ भन्दै अहिले सत्ताको ‘ह्याङओभर’ छाडेर सङ्घर्षको मैदानमा जानुपर्ने बेला आएको बताए । नेपालको राजनीतिमा स्वाधीनता र स्वाभिमान कमजोर हुँदै गएको उनको भनाइ थियो । उनले काङ्ग्रेस नयाँ सोच र विचारका साथ अगाडि बढे मात्र विपीको सपना पूरा हुने बताए । “नेविसङ्घभित्र पार्टीका नेताको हस्तक्षेप राम्रो भएन,” उनले भने ।
केन्द्रीय सदस्य गगनकुमार थापाले प्रजातन्त्र, राष्ट्रियता र सामाजिक आन्दोलनका नेता विश्वेश्वरप्रसाद कोइराला भएको बताए । “काङ्ग्रेसका लागि पथप्रदर्शकका रुपमा रहनुभएका बिपी कोइरालालाई नबुझी काङ्ग्रेस बुझ्न सकिँदैन”,उनले भने । सरकारको गलत कुराका लागि नेविसंघले अहिंसात्मक आन्दोलन गर्नु जरुरी रहेको उनको भनाइ थियो ।
केन्द्रीय सदस्य उमाकान्त चौधरीले दुई तिहाइको बहुमत भएको सरकारले जनताको भावनानुसार काम गर्न नसकेको बताए। उनले नेविसंघ बलियो भएमात्र काङ्ग्रेस बलियो हुने भन्दै बलियो काङ्ग्रेस निर्माणका लागि युवा लाग्नुपर्ने उल्लेख गरे । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले काँग्रेसभित्रको गुट उपगुटलाई अन्त्य गरेर पार्टी बलियो बनाउनुपर्नेमा जोड दिए ।
काङ्ग्रेस नेता भीमसेनदास प्रधानले बिपी कोइरालाको पालामा युवाले पार्टी र सरकारको नेतृत्व गरेको भन्दै काङ्ग्रेस रुपान्तरणका लागि पार्टीभित्र युवाको नेतृत्व आवश्यक रहेको बताए ।
नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले लोकतन्त्रको रक्षाका लागि नेविसंघ एक भएर मैदानमा उत्रिनुपर्ने बेला आएको बताए ।
