सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो ।

‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ ।

“कार्ययोजना बनाउँदैछौँ, सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ”, प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भने, “परियोजनाका सबै पक्षलाई अध्ययन गरेर सरकारलाई दिशानिर्देशन दिन्छौँ ।” प्रारम्भिक सम्भाव्यताका आधारमा सम्भव हुने आयोजना मात्र परियोजना बैंकमा समावेश गरिने उनको भनाइ छ ।

यसअघि प्रदेश सरकारले वैदेशिक सहायता प्राप्ति र लगानी व्यवस्थापनका लागि विभिन्न १९ आयोजनाको सूची सङ्घीय सरकारसमक्ष पठाइसकेको थियो । सरकारले सडक, जलविद्युत्, सिमेन्ट कारखानादेखि पेट्रोलियम पदार्थको उत्खनन गर्नेसम्मका आयोजना पहिचान गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारले आगामी चैत मसान्तसम्म प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने बबताए । सम्मेलनमा प्रधानमन्त्री, सङ्घीय मन्त्री, विदेशी दातृ निकायका प्रमुख तथा प्रतिनिधि, लगानीकर्तालगायतलाई आमन्त्रण गर्ने प्रदेश सरकारको तयारी छ । सम्मेलनले कर्णालीमा बृहत लगानीका लागि मार्ग प्रशस्त गर्ने सरकारको अपेक्षा छ । मन्त्री ज्वालाले कर्णालीमा जलस्रोत, जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेकाले स्वदेशी÷विदेशी लगानीकर्तालाई तीनै क्षेत्रमा लगानी गर्न आह्वान गरिने बताए ।

उनले बजेट कार्यान्वयनको आधार तय भइरहेकाले सरकारले अब परिणाम देखिने गरी काम थालेको बताए । “प्रदेश संरचना सङ्घीयतासँगै आएको हो, प्रदेश सरकार सफल भए मात्र सङ्घीयता सही दिशामा अघि बढ्नेछ”, मन्त्री ज्वालाले भने, “त्यसैले उपलब्ध संरचना, समन्वय र कर्मचारीको संयोजन गर्दैछौँ, केही चुनौती कायमै रहे पनि यस वर्ष बजेट कार्यान्वयनको गति सन्तोषजनक हुनेछ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version