काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को शुरुवातीदेखि नै नेपालको व्यापार घाटा चुलिंदै गएको छ । चालू आवको पाँच महिनामा व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार समीक्षा अवधिमा सोहि समयकोअघिल्लो वर्षको तुलनामा व्यापार घाटा ३६ दशमलब ११ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा नेपालबाट ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा ६ खर्ब ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ३४ दशमलब २५ प्रतिशतले र निर्यात ११ दशमलब २१ प्रतिशतले बृद्दि भएको छ ।
निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुने र डलरकोसंग नेपाली रुपैयाँ भारी मात्रामा कमजोर हुँदा समीक्षा अवधिमा ब्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार ३२ दशमलब ६५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ४९ करोड पुगेको छ ।
सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ३ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा ८७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
समीक्षा आवधिमा नेपालबाट भारतमा २१ अर्ब ९१ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा ३ खर्ब ८६ अर्ब बराबरको सामान आयात भएको छ ।
त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा ९२ करोड रुपैयाँ बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा ८८ अर्ब ६३ करोड बराबरको सामान आयात भएको छ ।
