काठमाडौँ: चालू आर्थिक वर्षको प्रथम पाँच महीनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ५० करोड पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.८ प्रतिशत र ९४.२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भर्ई ३७ अर्ब ५० करोड तथा कुल पैठारीमा ३३.८ प्रतिशतले वृद्धि भई ६ खर्ब ७ अर्ब पुगेको छ ।

आ.व. २०७४÷७५ को प्रथम पाँच महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.६ भएकोमा आ.व. २०७५÷७६ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१६.२ रहन आएको छ ।

निकासीमा पैठारीको दाजोमा न्युन वृद्धि तथा पैठारीमा भारी वृद्धिका कारण व्यापारघाटा बढ्ने क्रम जारी रहेको छ । समीक्षा आवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

मुलुकका लागि अति आवश्यक वस्तुहरु जस्तै पेट्रोलियम पदार्थ, विकास निर्माणका लागि चाहिने फलाम तथा स्टीलका उत्पादनहरु, मशिनरी तथा पाट्र्स तथा मुलुकमा उत्पादन नहुने तर नभई नहुने यातायातका साधानहहरु, विद्युतजन्य उपकरणहरु तथा हवाईजहाज तथा पाट्र्सको आयातका कारण आयातमा भारी वृद्धिको अवस्था देखिएको हो ।

माथि उल्लेखित वस्तुहरुको हिस्सा नेपालको कुल पैठारीमा करीव ४९ प्रतिशत रहेको छ । नेपाल कृषि प्रधान देश हुँदा हुँदै पनि कृषिजन्य वस्तुहरुको आयातमा समीक्षा अवधिमा करीव १४ प्रतिशतले वृद्धि भएको छ जुन चालु आवको प्रथम पाँच महीनाको नेपालका कुल आयातको लगभग १५ प्रतिशत हुन जान्छ । यसका अतिरिक्त सुन चाँदी जस्ता वस्तुहरुको आयातको हिस्सा पनि नेपालको कुल व्यापारको लगभ ४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा कृषिजन्य वस्तुहरुको निर्यातमा २६ प्रतिशतको वृद्धि भई रु ११ अर्व ४४ करोड पुगेको छ । साथै परम्परागत रुपमा निकासी भई रहेका गैरकृषिजन्य वस्तुहरु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुहरुमा उल्लेख्य वृद्धि भएकोले मुुलुकको समग्र निर्यातमा सुधार देखिएको हो । मुलुकको समग्र निर्यातमा गैर–कृषिजन्य वस्तुको तुलनामा कृषिजन्य वस्तुहरुको निर्यात उच्च दरमा वृद्धि भएको देखिन्छ ।

निकासी व्यापारतर्फ पनि समीक्षा अवधिमा १२.३ प्रतिशतको वृद्धि देखिए तापनि निर्यातको आयतन पहिल्यै देखि आयातको तुलनामा धेरै सानो भएको हुँदा यस वृद्धिले मुुलुकको निर्यात आयात अनुपातलाई सुधार गर्न खासै योगदान दिन नसकेको अवस्था विद्यमान छ ।

गन्त्व्यका दृष्टिले नेपालको निर्यात व्यापारमा भारतको हिस्सा उल्लेख्य रहेको छ भने अन्य प्रमुख गन्तव्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका ( १२ प्रतिशत), जर्मनी (४ प्रतिशत), युके ( ४ प्रतिशत), टर्की ( ३ प्रतिशत) रहेका छन् ।

उपरोक्त देशहरुमा भारततर्फको निकासीमा २०.५ प्रतिशतले वृद्धि भई रु २१.९२ अर्व पुगेको छ । भारतमा निकासी भएका प्रमुख वस्तुहरुमा चिया, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, जुटका उत्पादनहरु, अलैंची रहेका छन् ।

यस्तै संयुक्त राज्य अमेरिका तर्फको निर्यातमा २६.६ प्रतिशतले वृद्धि भई रु ४.६८ अर्व पुगेको छ । संयुक्त राज्य अमेरिका तर्फको निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्ट, छुर्पी, टोपी र ग्लासवेयर आदि रहेका छन् ।

जर्मनीको निकासीमा ८.७ प्रतिशतले वृद्धि भई रु १.४७ अर्व पुगेको छ । जर्मनीतर्फ निर्यात हुने वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, फेल्ट, टोपी प्रमुख रुपमा रहेका छन् ।

युके तर्फको निर्यातमा पनि २.२ प्रतिशतले वृद्धि भई रु १.३६ अर्व पुगेको छ । युकेतर्फ निकासी हुने वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, फेल्ट, टोपी प्रमुख रुपमा रहेका छन् ।

उता टर्की तर्फको निर्यातमा भने ३७.३ प्रतिशतले ह्रास आई रु १.२६ अर्वमा सीमित हुन पुगेको छ । समीक्षा अवधिमा उक्त मुलुकमा निर्यात हुने यार्नको निकासीमा करीव ३७ प्रतिशतले कमी आएका कारण यो ह्रास देखिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version