काठमाडौँ : नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र(ब्रोकर लाइसेन्स) प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

बोर्डले आज स्टक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई एक निर्देशनमार्फत तत्काल धितोपत्र कारोवारका लागि वाणिज्य बैंकका सहायक कम्पनीलाई अनुमति दिन भनेको हो । बोर्डले त्यस्तो अनुमतिपत्र प्रदान गर्न तथा यस अघि सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानमा समेत धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन समेत स्टकलाई निर्देशक दिइएको प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डले कारोवार सूचाङ्क नेप्से परिसूचकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन, बजार प्रभावित हुने प्रवृत्तिलाई निरुत्साहित गर्न, नेप्से बढ्दा वा बढ्दा हुने व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन समेत निर्देशन दिएको छ । लगानीकर्ताको हितका लागि लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न तथा धितोपत्र बजारका लगानीकर्ताका हित संरक्षणको लागि कानूनी प्रबन्धसहितको व्यवस्थाका बारेमा समीक्षा गरी बोर्डमा पेश गर्न समेत आग्रह गरिएको छ ।

यस्तै बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई दोस्रो बजार भुक्तानीका लागि आवश्यक भुक्तानी सुनिश्चित कोष स्थापना गर्ने व्यवस्था गर्ने निर्देशन दिएको छ । राम्रो वित्तीय अवस्था भएका सङ्गठित संस्थालाई मात्र सार्वजनिक निष्काशन गर्ने अनुमति दिन, ऋणपत्रको दोस्रो बजारको कारोवारलाई व्यवस्थित गर्न समेत आवश्यक व्यवस्था मिलाइसकिएको बोर्डको भनाइ छ । बोर्डले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदलले दिएको सुझावका आधारमा आज उक्त निर्देशन दिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version