बर्दिवास: पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् ।

जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीमा कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन् ।

खेतबारीमा खुट्टी उखु (दोस्रो पटकको उत्पादन लिइने उखुबाली) सुक्न लागेपछि बाध्य भएर कोल (उखु पेल्ने घरैया मशिन, तुर्पिन) खोजेर उखु पेल्न थालिएको किसान बताउँछन् । खुट्टी उखु काट्ने समय घर्किनै लाग्दासम्म उद्योग चल्ने छाँटकाँट नदेखिएकाले आफ्नै बस्तीमा तुर्पिन भाडामा लिएर उखु पेल्न थालिएको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान हजारी महतोले बताए ।

खुट्टी उखु मङ्सिर दोस्रो सातासँगै काटेर खाली खेतमा हिउँदेबाली लगाउन पर्नेमा यसपालि पुस तेस्रो साता बित्न लाग्दासम्म चिनी मिल नचल्ने छाँट देखिएपछि उखु सुकेर खेरजाने भएकाले पेलेर सख्खर बनाउनु परेको किसानको भनाइ छ । “के गर्नु हजुर, उखु पेल्नु भनेको आफैँ पेलिनुजस्तै हो, भन्या बेला कोल पाइँदैन, कोलको भाडा त्यस्तै महँगो, तर के गरौँ ?” बर्दिवास नगरपालिका–९ पशुपतिनगरका पुराना उखु किसान ७५ वर्षीय नथुनी महतोले भन्नुभयो, “पेलेर सख्खर बनाए केही त हात लाग्ला भनेर पेल्न थालिएको हो ।”

खुट्टी उखु काटेर खाली भएको खेतमा पुस २२ भित्र गहुँ, वैशाखी लहरे तरकारी र घाँसेबाली लगाइसक्नु पर्ने भए पनि उद्योग चल्ने आसमा पर्खदापर्खदै ढिलो हुँदा अब हिउँदे बाली लगाउने समय घर्किने किसान बताउँछन् । “भर्खर पेल्न थाल्यौँ, एक कट्ठाको उखु पेल्न नै तीन÷चार दिन लाग्छ, अब दुई बिघाको उखु कैले पेलीसक्नु ? कहिले खेतबारी खनजोत गरेर नयाँ बाली लगाउनु ?” धमाधम उखु पेलाइमा ब्यस्त रहनुभएका बर्दिवास–१२ बिजलपुराका अर्का किसान रामबिलास महतोले आफ्नो वह पोखे ।

अन्तिम समयमा घरमै उखु पेल्ने कोल पनि नभेटेका किसानले भने सख्खर बनाउने भट्ठीलाई कौडीको मूल्यमा उखु बेच्नु परेको छ । “हामीकहाँ कोल राख्ने किसान १०÷१२ मात्र छन्, सबै कोल खोज्ने हुँदा नपाइएपछि भट्ठीले मागेकै दाममा उखु दिन परेको छ” जिल्लाको रामगोपालपुर नगरपालिका–१ को महनपुरका किसान इम्तियाज अलीले वीरक्तिँदै भने, “मिलमा गतसाल रु ४६५ प्रतिक्विन्टल पाइएको उखु अहिले भट्ठीबालालाई ३०० भित्रै दिनुपरेको छ, नदिउँ..त्यो पनि सुकेरै जान्छ , के गरु ?”

जिल्लामा यसपालि चार हजार हेक्टरमा मुडन (पहिलो वर्षको उखुबाली) र करीब पाँच हजार हेक्टरमा खुट्टी रहेको उखु उत्पादक किसानका प्रतिनिधिमूलक संस्था उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घले जनाएका छन् । मुड्न उखु चैत मसान्तसम्म काट्न सकिए पनि खुट्टी भने काटेर खाली भएको खेतबारीमा नयाँ बाली लगाउन पाइने आसमा किसान सस्तोमा उखु बेच्न बाध्य भएका उखु उत्पादक सङ्घ रामनगरका अध्यक्ष श्याम शङ्कर बताउछन् ।

यता किसानको गुनासोसँगै उद्योग सञ्चालकले पनि आफ्नो पीडा सुनाउने गरेका छन् । करोडौँ लगानी गरेर सञ्चालन गरिएका उद्योगबाट उत्पादित चिनी गोदाममा थन्किदा आफूहरुको विचल्ली भएको एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालक एसके शर्राफ (सरेशकुमार शर्राफ) बताउनुहुन्छ । “हाम्रो उत्पादन गोदाममा थन्किएको छ” एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालक सुरेशकुमार शर्राफले भने, “चिनीको आयात खुला भएकाले हाम्रो उत्पादन बिक्री भएको छैन, किसानलाई हामीले के दिनु ? अब त उद्योग नै धराशायी हुने भो..! हामी के गरौँ ?” सरकारले विज्ञसहितको टोली गठन गरेर उखुको मूल्य निर्धारण गर्दै चिनीको आयात रोकेमात्र उद्योग र किसान दुवै उक्सिने चिनी उद्योग सञ्चालक बताउँछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version