विदुर: पवित्र तीर्थस्थल त्रिशूली र बेत्रगङ्गा नदीको सङगमस्थललाई नेपालको महत्वपूर्ण श्राद्ध तीर्थस्थल मानिन्छ ।
आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती (उत्तरगया) मा पितृमोक्षका लागि श्राद्ध गर्नेको बिहानैदेखि ठूलो संख्यामा भिड लागेको छ । काशी, गया लगायतका धार्मिक तीर्थस्थलमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर मात्र गएमा पुण्य हुने जनविश्वास रहिआएको छ । यस कारण पनि यहाँ पौषे आँैसीका दिन उल्लेख्य मात्रामा श्राद्ध गर्नेको भिड लाग्दछ ।
यस दिनलाई गया मौनी दर्शश्राद्धमको नामले समेत सम्झना गरिन्छ । तीर्थश्राद्ध गर्दा आएका हजारौं श्रद्धालुले पितृमोक्षका लागि जौंको पिठोबाट बनाइएको पिण्डदान गर्ने गर्छन् । उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औँसीका दिन पितृलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरु मोक्ष हुन्छन् भन्ने विश्वासका साथ तीर्थालुको यहाँ भीड लागेको हो ।
ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगयामा पौष औँसीको दिन एकैपटक र एकैस्थानमा ३० हजारभन्दा बढीले श्राद्ध गर्ने गरेका छन् । नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीस्थित त्रिशूली नदी किनारमा बिहानैदेखि पितृ भएका आफ्ना आमा बाबुको श्राद्ध गर्न मानिसहरु विभिन्न जिल्लाबाट आउने क्रम चलिरहेको छ ।
दुई सय वर्षभन्दाअघि नेपाल–चीनबीच युद्ध हुँदा बेत्रावती सन्धीस्थलको रुपमा समेत चर्चित यहाँ अघिल्लो वर्ष करीब २० हजारले श्राद्ध गरेकोमा यस वर्ष श्राद्ध गर्नेहरु त्यसभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ ।
यहाँ चितवन, नुवाकोट, रसुवा, काभ्रे, धादिङ, गोरखा, सिन्धुपाल्चोक, मकवानपुर, बारा लगायतका अधिकांश क्षेत्रबाट तीर्थयात्री आउने गरेका छन् । देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लठ्ठीले पहरामा छेड्दा निस्किएर भई बगेको बेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट उत्पत्ति भइ बगेको त्रिशूली नदीको सङ्गममा पौषकृष्ण औँसीका दिन सबै देवता र मृतात्माको जमघट हुने भएकाले यस दिन यहाँ श्राद्ध गर्दा सबै पितृ मोक्ष हुने अर्को धार्मिक विश्वास रहिआएको छ ।
“बेत्रावतीमा श्राद्ध गरेमा पितृले गरेका पाप कर्म नास भई स्वर्गवास हुन्छन् र सन्तानलाई आशिक दिन्छन् भन्ने कुरा धर्ममा लेखिएको छ, त्यही भएर आमाबुबाको श्राद्ध गर्न आएँ”, गोरखाका सिद्धनाथ नेपालले भन्नुभयो ।
भारत वर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक गया उत्तरगया हो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दू कुश क्षेत्रका चार गयामध्ये एक मानिने तुप्चेका युवा प्रदीप अधिकारीले बताउनुभयो ।
यहाँ बालाचर्तुदशी, पौषे औँसी, रामनवमी, हरिवोधनी एकादशी, कदशहरा, ऋषितर्पणी, कुशे आँैसी आदि पर्वमा भक्तजनको भव्य मेला लाग्दछ । उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेका हजारौँ तीर्थ यात्री श्राद्ध तथा पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नुपर्ने धारणा स्थानीय वुद्धिजिवीको छ ।
नेपालकै महत्वपूर्ण गया क्षेत्रमध्येको एक उत्तरगया क्षेत्रको महिमा इतिहासमा समेत उल्लेखित छ । भगवान श्रीरामचन्द्रको पालादेखि नेपाल र चीन सन्धी भएको पौराणिक कहानी पनि छ । त्यसैले शताब्दी औँ देखिको ऐतिहासिक धार्मिक रूपले परिचित छ । इतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाइन्छ ।
नेपाल–तिब्वतबीच लडाई हुँदा विसं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ । यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा पनि चिनिन्छ । परापूर्वकालमा तिब्वत र नेपालबीचको युद्ध अन्त्य भएको लहरेपौवाको बेत्रावतीको उत्तरगयामा सन्धीको सम्झना स्वरूप सन्धी स्तम्भ निर्माण हुने बताइएको छ । स्थानीयका अनुसार नेपाल र तिब्बत बीचको लडाईँको स्तम्भ निमार्ण तथा पुराना किम्बदन्ती जीवित राख्न प्रचारप्रसार र संरक्षण लागिएको छ ।
