बारा: बारा, पर्साका ११ हजार भन्दा बढी किसानहरुले खेतमा लगाएको अर्बौ मूल्य बराबरको उखु खेतमै सुक्न थालेको छ। मूल्यको विषयलाई लिएर चिनी मिल सञ्चालकले चिनी मिललाई सञ्चालन गर्न आनाकानी गर्दा किसानको अर्बौको उखुबाली अहिले बिक्री हुन नसकेपछि खेतमै सुक्न थालेको बताइएको छ।

चालू सिजनमा १४ हजार बिघा क्षेत्रफलमा बारा, पर्साका ११ हजार किसानले लगाएको उखुको उत्पादन ३५ लाख क्विन्टल पुग्ने र त्यसबापत किसानले १ अर्ब ८७ करोड भुक्तानी पाउने लक्ष्य राखिएको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले जनाएको छ।

‘दुई लाख लगानी गरेर दुई बीघा जग्गामा उखु खेती गरेको थिए,’ बन्जरिया निवासी बिक्रम राउतले भने, ‘उखु कटन गरी बिक्री गर्न नसकिदा ती उखु खेतमै सुक्न थालेको छ।’ अरूको खेतलाई हुन्डामा लिएर उखु बाली लगाएको र उखु खेतमै सुक्न थाले पछि जग्गाको भाडा र उखुमा गरिएको लगानी डुब्ने अवस्थामा पुगेको राउतले बताए।

उखुबाली बिक्री गर्नको लागि तयारी भएको अवस्थामा चिनी मिलले उखु खदिर गर्नको लागि चलान नदिँदा उखुलाई बिक्री वितरण गर्नमा यस सिजन ढिलाई भएको उनले बताए। कलैंया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिले उखु खरिद गर्ने वाचा दिएर खेतमा उखु बाली रोप्न लगाएपनि पुस महिना बित्न लाग्दा समेत मिल उखु खरिद गर्न कुनै साटघाट नदेखाएको आरोप उनले लगाए।

गत वर्ष पुस १ गतेदेखि रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिका सञ्चालकले मिललाई सञ्चालनमा लगाएपनि यस वर्ष पुसको २१ गते बितिसक्दा पनि चिनी मिललाई सञ्चालन नगरिएको राउतले जानकारी गराए। समयमा चिनी मिल सञ्चालनमा नआउँदा किसानले लगाएको कुल उखु बालीको २५ र ३० प्रतिशत उखु सुकीसकेको अवस्था रहको किसानले बताएका छन्। उखुको मूल्यको विवादलाई अविलम्ब सुल्झाएर चिनीमिल सञ्चालनमा ल्याउन पहल गरिदिन उनले सरकारलाई आग्रह समेत गरे।

बारा, पर्साका ११ हजार किसानले १४ हजार बीघा क्षेत्रफलमा मिललाई बिक्री गर्नको लागि उखु बाली लगाएको रिलायन्स सुगर एन्ड केमीकल इन्डस्ट्रिज प्रालिले जनाएको छ। किसानले लगाएको जग्गाबाट ३५ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको चिनी मिलका अधिकारीले बताएका छन्। मिलसँगको सहकार्यमा बारा, पर्साका किसानले लगाएको उखुलाई मिलले खदिर गर्न तयार रहेपनि सरकारले हाम्रो समस्या नबुझेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक राजकुमार अग्रवालले बताए।

‘सरकराले तोकेको मूल्यमा उखु खरिद गर्दा मिललाई घाटा मात्रै हुने गरेको छ,’ अग्रवालले भने, ‘मिललाई हुने घाटाबाट बचाउनको लागि सरकारले चिनीको उत्पाद मूल्य भन्दा केही रकम बढीमा चिनीलाई बिक्री वितरण गर्न मिल्ने नियम,कानुन बनाउन जरुरी छ।’ सरकारले उखुको मूल्य एकतर्फी लादेर उद्योग सञ्चालन गराउन खोजेको गुनासो अग्रवाल गरे। एउटै देशमा उखुको दुई थरीको मूल्य रहेकोमा उनले देशभरी नै उखुको एउटै रेट कायम गर्न तिर सरकार लाग्नुपर्नेमा सुझाव दिए।

सरकारले तोकेको मुल्य भन्दा ९० रुपैयाँ प्रति क्विन्टल कममा केही चिनी मिलले किसानबाट उखु खरिद गरिएकाले त्यसलाई रोक्न सरकारले कुनै पहल नगरेको उनले बताए। सरकारले निर्धारण गरेको पाँच सया ३६ रुपैयाँ प्रति क्विन्टल उखुलाई किसानबाट खरिद गरी चिनी उत्पादन गर्दा प्रति किलोग्राम चिनीको ७३–७४ रुपैयाँ पर्ने गरेको र सरकारले प्रति किलोग्राम चिनीलाई ६३–६४ रुपैयाँमा बिक्री गर्ने लगाउने गरेको अग्रवालले बताए। यो समाचार नागरिक दैनिकमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version