काठमाडौ: सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयको भवन नेपालगञ्जमा स्थापना गरेको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरुबाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
प्रदेश नं ५ मा रहेका १३ जिल्ला मध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । हाल यस बैंकका बढैेयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज, सानोश्री र सिद्धार्थनगमा शाखा रहेका छन ।
यस अगावै बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।
