काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमान स्थल’ मा रुपान्तरण गर्ने लक्षका साथ अघिबढेको सरकारलाई थप सहयोग हुनेगरी अध्यागमन विभागले अव छिट्टै ‘मेसिन रिडेवल भिसा’ जारी गर्ने भएको छ।
अध्यागमन विभागका महानिर्देशक तथा सहसचिव इश्वर राज पौडेलका अनुसार यसै आर्थिक वर्षको ७ देखि ८ महिनाभित्र ‘मेसिन रिडेवल भिसा’ अर्थात मेसिनले मात्रै पढ्न सक्ने भिसा जारी गर्नेछौं ।
अध्यागमनमा आयोजित पहिलो पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, “बिमानस्थल भनेको सबै देशी-विदेशीले अनुभव गर्ने पहिलो गन्तब्य भएको र यसको समयसापेक्ष आधुनिक प्रविधिसहित स्तरउन्नति हुन जरुरी छ यसका लागि हामीले सरकारको अझ भनौं गृह मन्त्रालयको गृह प्रसाशन सुधार कार्ययोजनालाई सहयोग हुनेगरी काम गरीरहेका छौं।”
हाल चालु रहेको ‘इमी’ सफ्टवेर अर्थात ‘इलेक्ट्रोम्याग्नेटिक इन्टरफेरेंस सफ्टवेर’ मा आधारित रहेर हाल उसले त्रिवि विमानस्थलमा आफ्ना सम्पूर्ण आगमन र प्रस्थानमा यसको प्रयोगबाट काम गर्दै आइरहेको छ।
अव हामीले बनाउन लागेको भनेको सफ्टवेर ‘नेपाली पोर्ट’ हो जसका लागि हामी हाम्रै नेपाली कम्प्युटर इन्जिनियरहरुको सहयोगमा यो सफ्टवेर तयार गर्नेछौं।

मेसिन रिडेवल भिसा भनेको हातले लेख्न नपर्ने पहिलेनै मेसिनले लेखेको एक प्रकारको सुरुक्षित भिसा हो जसमा सुरक्षाका सबै बिशेषता जडित हुन्छ जुन हाते लेखनले गर्दा हुने त्रुटि र यसको दुरुपयोग रोक्न सकिन्छ, उनले भने।
विभागले पहिलो चोटी पर्यटक भिसामा यसको थालनी गरिने र पछि क्रमस सबै प्रकारका भिसामा यसको प्रयोग हुने पौडेलले जानकारी दिए।
नेपालबाट हाल पर्यटक, अफिसियल, कुटनीतिक, अध्ययन, बिजनेस, गैर पर्यटक भिसा( तीन प्रकारका), ट्रान्जिट, आवाशीय र गैर आवाशीय भिसा जारी हुँदै आइरहेको छ।
अव जारी हुने मेसिन रिडेवल भिसा हाल प्रचलनमा रहेको नेपाली भिसा स्टिकर गुणस्तर र सुरक्षाको हिसावले कम्जोर भएको हुँदा नेपालको पहिचान देखिने र ‘आइकाओ’को सुरक्षा मापदण्ड पूरा गर्ने गरी अन्तर्राष्ट्रियस्तरको रुपमा रुपान्तरण गर्ने गरी तयारी शुरु गरिएको हो, पौडेलले भने।
उनका अनुसार यस्तो मेसिन रिडेवल भिसा जापान, भारत, इयु, अमेरिका र कोरिया देशहरुले समेत प्रयोग गर्दै आइरहेका छन्।
यस्तै त्रिभुवन विमानस्थलमा अवको ८ महिनाभित्र त्यहाँको सम्पूर्ण आगमन र प्रस्थान कक्षहरु अन्तर्राष्ट्रिय मापदण्डमा रहेर निर्माण कार्य अघि बढेको पनि उनले जानकारी दिए।
यसका लागी त्रिवि अध्यागमन विभागकै आर्किटेकलाई जिम्मा दिइ कामहरु सुरु भैसकेको र एक चरणको ‘इण्टिरियर डिजाइन’ तयार भैसकेको छ, उनले भने।
अव बन्ने आगमन र प्रस्थान कक्षमा जैविक प्रणालीमा आधारित प्रविधिको प्रयोगसंगै त्यसमा जडित ‘आइरिस मसिन र तस्बिर खिच्ने क्यामरा’सहितको प्रविधि हुनेछन।
यो प्रविधि अव बन्ने ‘नेपाली पोर्ट’ को सफ्टवेरसँग रियल टाइम डाटासँग पनि मेल खाने गरी सबै खाले अन्तर्राष्ट्रिय अपराधिक गिरोह र फरार व्यक्तिहरुको सूचिसमेत त्यहि सफ्टवेरले देखाउने गरी काम गर्नेछ, उनले भने।