काठमाडौँ: प्रजातान्त्रिक विचार समाजले सरकारले नागरिक स्वतन्त्रता कुण्ठित गर्ने र विधिको भन्दा व्यक्तिको शासन लाद्ने स्वेच्छाचारिता गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लोकतन्त्रको आधारस्तभ मानिने स्वतन्त्रता र विधिको शासनप्रति सरकारी हस्तक्षेप बढ्नु बहुलवादी व्यवस्थामा किमार्थ स्वीकार्य नहुने समाजका अध्यक्ष डा केदारनरसिंह केसी र महासचिव गोकर्ण अर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रको उपभोग गर्दै बहुलवादी व्यवस्थाबाट निर्वाचित सरकारले लोकतन्त्रको सिद्धान्तप्रति ख्याल नै नगरी स्वेच्छाचारिता बढाउनु खोज्नु लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिको खिलापमा भएको समाजको ठहर छ ।

प्रजातान्त्रिक विचार समाजका आजीवन सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई कार्यालयकै कामको सिलसिलामा क्यानडा जाने क्रममा विमानस्थलबाट फर्काउनुले विधि र कानूनी शासनको खिल्ली उडाएको विज्ञप्तिमा उल्लेख छ ।

समाजले चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बस्नुभएका चिकित्सक डा गोविन्द केसीको मागप्रति समाजको एक्यबद्धता प्रकट गर्दै जतिसक्दो चाँडो केसीले उठाएको माग पूरा गर्दै उहाँको जीवन रक्षाका निम्ति लाग्न सरकारसँग माग गरेको छ ।

“हिजो आफैँ संघर्षका लागि लडेको स्थान आज आफू सत्तामा पुगेपछि कसरी निषेधित हुन सक्यो ? यस्तो काममा लाग्ने मानसिकता भनेको सर्वसत्तावादी सोच नै हो भन्ने हाम्रो ठहर छ । तत्काल यस्ता स्वतन्त्रताको मानक मानिने स्थानमा लगाइएको निषेधाज्ञा खारेज गर्न माग गर्दछौंँ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, समाजले आमरण अनशनरत गंगामाया अधिकारीलाई न्याय दिलाउँदै उहाँको जीवन रक्षाका लागि सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version