बीबीसी: ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्तावको मतदानमा उनले जित हासिल गरेकी छिन् ।

विपक्षी लेबर पार्टीले उनीविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गरेको थियो ।

३२५ सांसदले सरकारको साथ दिए भने ३०६ सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे ।

प्रधानमन्त्रीले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनबारे युरोपेली अधिकारीसँग जुन सम्झौता गरिएको थियो, त्यसलाई मञ्जुरी दिलाउन मंगलबार उनी संसदमा गइन् तर संसदले त्यसलाई ठाडो अस्विकार गरे ।

त्यसपछि लेबर पार्टीका नेता जेरेमी कोर्बोनले टेरिजा मेको सरकारले संसदमा आफ्नो विश्वास गुमाइसकेको बताएका थिए ।

कोर्बेनले यही भनेर अविश्वासको प्रस्ताव राखेका थिए ।

बुधबार बेलायती संसदमा ६ घण्टासम्म अविश्वास प्रस्तावमाथि बहस भएपछि मतदान भयो ।

तर टेरिजा मेको आफ्नो पार्टीका बागी सांसद र डीयूपी सांसद जसले २४ घण्टाअघि टेरिजा मेको ब्रेक्सिट डिलको विरोधमा भोट गरेका थिए, बुधबार ती सांसदहरुले सरकारको समर्थनमा भोट गरे ।

यसै कारण टेरिजा केवल १९ भोटको अन्तरले आफ्नो सरकार बचाउन सफल भइन् ।

अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै भनिन्, ‘युरोपेली संघबाट बहिर्गमनका लागि भएको जनमत संग्रहको नतिजा पालना गर्दै यो देशको जनतालाई दिइएको वचनलाई पूरा गर्नका लागि म निरन्तर काम गरिरहनेछु ।’

उनले सबै पार्टीका नेतालाई उनीसँग मिलेर ब्रेक्सिटका लागि अबको मार्ग खोजी गर्नमा उनको मद्दत गर्न अपिल गरेकी छिन् । उनले भनेकी थिइन्, ‘हामीले यस्तो समाधानको खोजी गर्नुपर्छ जो विचारयोग्य होस् र जसले यो सदनको पर्याप्त समर्थन पनि पाओस् ।’

तर प्रतिपक्षी नेता जेरेमी कोर्बेनले कुनै पनि सकारात्मक कुराकानीअघि प्रधानमन्त्रीले नो–डील ब्रेक्सिटको सम्भावना खारेज गर्नुपर्ने बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version