काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको हस्तक्षेपका विरुद्ध कांग्रेस सडकमा ओर्लनुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

शनिबार काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाए।

सभापति देउवाले सरकारको ध्यान काममा भन्दा पनि हस्तक्षेपमा भएको आरोप लगाए। उनले अहिले कर्मचारीतन्त्र, प्रहरी प्रशासनसकारले हस्तक्षेप गरेको र भोलिका दिनमा सेना र न्यायलयमा पनि हस्तक्षेप गर्नसक्ने अवस्था रहेको दावी समेत गरे। सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको उनको दावी थियो।

सरकार सबै क्षेत्रमा कब्जा जमाउन मनासयले अगाडि बढेको भन्दै उनले सरकारको यो कदम प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा भएको भन्दै त्यसप्रति सचेत रहन आग्रह समेत गरे।

‘वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ’, सभापति देउवाले भने, ‘हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ, सचेत बन्नुहोस्।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाए।

देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको भन्दै उनले भने, ‘अवसर पाउँदा पनि सरकारले सदुपयोग गर्न सकेन।’

नेता पौडेलले सरकारले देशलाई विकासको बाटोमा लान नसकेको र विकासका काम अहिले अलपत्र परेको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version