काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी बर्खा शुरु हुनुभन्दा पहिले नै दीर्घकालीनरूपमा फोहर विसर्जनस्थल बन्चरे डाँडाको पूर्वाधार निर्माण गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हिजो हाल फोहर व्यवस्थापनस्थल सिसडोल साइट र दीर्घकालीन फोहर व्यवस्थापन निर्माणस्थल बन्चरे डाँडाको अवस्था बुझ्न नुवाकोट पुगेपछि सो आग्रह गर्नुभएको हो । प्रमुख शाक्यले भने, “सिसडोलमा फोहर व्यवस्थापनका लागि स्थान बढाउन मिल्ने अवस्था पनि छैन, दीर्घकालीन पूर्वाधारको काम छिटो अघि नबढाए समस्या उत्पन्न हुन्छ ।”

बन्चरे डाँडाको पूर्वाधार अघि बढाउन अहिले भइरहेका कामका विषयमा जानकारी गराउँदै सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले माटो परीक्षणको काम थालिएको जानकारी दिए। हाल निर्माणका लागि पाँच ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण भइरहेको पनि जानकारी गराइएको छ । परीक्षणबाट प्राप्त नतिजाअनुरुप डिजाइन र बोलपत्र आह्वानको हुने काम हुनेछ ।

दीर्घकालीनरूपमा प्रयोगमा ल्याउन लागिएको बन्चरे डाँडाको अवस्थाको स्थलगत जानकारी लिन प्रमुख शाक्य, सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली, कामपाका वातावरण व्यवस्थापन समितिका संयोजक विकास डङ्गोल र सांसद रामवीर मानन्धर सहभागी थिए ।

सिसडोलबाट बन्चरे डाँडा पुग्ने करीब दुई किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गर्ने काम सडक विभागबाट शुरु भइसकेको छ । दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भन्दै कामपालगायत काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version