बिर्तामोड महोत्सवमा मार्सी चामल, दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री

भद्रपुर: झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।

‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताइन् । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर विक्री वितरण गर्दै आएको छ ।

“पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिए”, उनले भनिन्, “प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्र्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।” पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित सो महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए।

महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उहाँले बताउनुभयो । उहाँका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव आज सकिँदैछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version