गाईघाट: केही समयदेखि नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ । डेढ वर्षदेखि विद्युत्भार कटौतीको अन्त्य भएपछि नाफामा गएको उदयपुरको जलजलेमा अवस्थित सो उद्योग अहिले फेरि विद्युत्भार कटौती शुरु भएसँगै सिमेन्ट उत्पादनमा कमी भई घाटामा गएको हो ।

पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्डै रु तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साह बताउछन् ।

एक महीनाअघिसम्म दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युत्भार कटौती हुन थालेपछि दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन भएका कारण पुनःसिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए ।

सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युत्भार कटौती हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको उद्योग प्रशासनले बताएको छ ।

एक दिनमा पाँचपटकसम्म पटकपटक विद्युत्भार कटौती हुँदा सात लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षदेखियता आएर रु ५० करोडभन्दा बढीको नाफा गर्न थालेका बेला विद्युत्भार कटौतीका कारण उद्योग पुनःघाटामा जान थालेको उद्योग प्रशासन बताउँछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version