डडेलधुरा :डडेलधुराको जोगबुडा क्षेत्र जोड्न महाकालीमा पुल नहुँदा स्थानीय मर्कामा परेका छन्। जिल्लाको भित्री मधेस क्षेत्र परशुरामधाम र भारतलाई जोड्न महाकालीमा पुल निर्माण नभएकाले डुंगाबाट वारपार गर्नुपरेको स्थानीय पुष्पा विष्टले बताइन्।
भारतको उत्तराखण्डमा रहेको पूर्णागिरि धाम र नेपालतर्फको परशुराम धामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक रहेको उनले बताइन्। उनी भन्छिन्, ‘छिमेकी मुलुक भारतबाट स्नानका लागि आउने पर्यटक पनि डुंगाकै प्रयोग गरी वारपार गर्छन्। यात्रा सुरक्षित नभएकाले उनीहरूको संख्या बढ्न सकेको छैन।’
कञ्चनपुरबाट परशुराम स्नानका लागि परिवारसँगै बालबच्चा ल्याएर परशुरामधाम आएका हर्कबहादुर धामीले पनि महाकालीमा पुल नहँदा समस्या भएको बताए। ‘महाकालीमा पुल नहुँदा डुंगा तरेर आउँदा एउटा बच्चा डुंगाबाट महाकालीमा खस्यो, तीन मिटर तलबाट प्रहरीले बच्चालाई नदीबाट उद्धार गर्न सफल भयो र ऊ बाँच्यो’, उनले भने।
कञ्चनपुरका धार्मिक पर्यटकका लागि टनकपुरको बाटो भएर परशुरामधाम आउन छोटो हुन्छ। स्थानीय नवराज भट्ट भन्छन्, ‘कञ्चनपुरबाट परशुराम क्षेत्र आउन, भारतबाट सहज हुन्छ, महेन्द्रनगरबाट बनवासा सय रुपैयाँ र बनबासाबाट टनकपुरसम्म १५ रुपैयाँ खर्च गरे परशुरामधाम पुग्न सकिन्छ तर महाकालीमा पुल नभएकाले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।’ यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।
