काठमाडौँ: निरन्तर घटिरहेको शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक मंगलबार २२ दशमलब ४४ अंकले बढेर एक हजार १२४ दशमलब ९६ अंकमा पुगेको छ ।
आइतबार नेप्से ३ दशमलब ३५ अंकले र सोमबार ७ दशमलब २१ अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ५५ अंकले बढेर २३८ दशमलब ९१ अंकमा पुगेको छ ।
आज कूल १६७ कम्पनीका ७ लाख १४ हजार ८७६ कित्ता शेयर २१ करोड ४५ लाख ८८ हजार ६१९ मूल्यमा खरीद बिक्री भएका छन् ।
नेप्से बढेपनि कारोवार रकममा भने भारी गिरावट आएको छ ।
सोमबार कूल १६० कम्पनीका ८ लाख ६२ हजार ६५१ कित्ता शेयर २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा सबै सहूहको परिसूचकमा सुधार आएको छ ।
बाणिज्य बैंक १४ दशमलब ६९ अंक, जलबिधुत २७ दशमलब ०५ अंकले, जीवन बीमा २५१ दशमलब ७३ अंकले र निर्जीवन बीमा १५३ दशमलब ९३ अंकले बढेका छन् ।
त्यसैगरी,उत्पादन मूलक समूहको परिसूचक ६ दशमलब १३, विकास बैंक २१ दशमलब १६ अंक, होटल २३ दशमलब ०५ अंक र लघुवित्त ४१ दशमलब २८ अंकले बढेका छन् ।
