धनगढी: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताएका छन् ।

नेकपाद्वारा आज यहाँ आयोजित सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन कसैले भनेर फुट्नेवाला छैन भने ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि पार्टीका दुई अध्यक्षको व्यवस्थाका सन्दर्भमा विपक्षीबाट हुने गरेको टिप्पणीतर्फ लक्षित गर्दै उनले भने, “दुई वटा शेर एउटै जङ्गलमा हुन सक्दैनन् भनेर विपक्षीले भन्छन् तर हामी मिलेर बसेका छौँ ।”

लामो बलिदानी र सङ्घर्षको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्राप्त भएर देश नयाँ विन्दुमा आइपुगेको उनले उल्लेख गरे । सुविधा उपभोग गर्न सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘‘देश बनाउन, गरीबी हटाउन, देशलाई अल्पविकसित राष्ट्रबाट मुक्त पार्न, सबैलाई साक्षर बनाउने जस्ता काम गरेर परिवर्तन गर्ने अभियानमा छौँ ।”

प्रधानमन्त्रीले छाउपडीजस्ता कुप्रथा हटाउन जनजागरण अभियान चलाउन लागिएको बताउँदै पूर्व पश्चिम रेलमार्ग, मध्य पहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणमा प्राथमिकता दिएर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नयाँ नेपाल निर्माणका लागि दुई कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नदेखेर पार्टी एकता गरिएको स्पष्ट पार्दै विभिन्न कारणले तोकिएको समयभित्र पार्टी एकताले पूर्णता पाउन नसके पनि छिटोभन्दा छिटो पार्टी एकतालाई टुङ्ग्याउने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘‘अहिले नेकपालाई प्राप्त जनविश्वास गुम्यो भने यो राष्ट्र र कम्युनिष्ट पार्टीका लागि गम्भीर दुर्घटना हुनेछ ।”

दाहालले पार्टी एकता भाँड्न र सरकारलाई असफल बनाउन चाहने शक्तिबाट सचेत भई काम गर्नुपर्ने बताए ।

सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टी कहिल्यै पनि अधिनायकवादमा जाँदैन भन्दै जनताको मन र विश्वास जित्ने गरी काम गर्न आग्रह गरे \। नयाँ नेपाल बनाउनका लागि नयाँ सोच, चिन्तन र दृष्टिकोणका साथ काम गर्न आवश्यक रहेको नेपालले उल्लेख गरे ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले दुई कम्युनिष्ट पार्टीको एकताले केही शक्ति सलबलाएको उल्लेख गर्दै एकताविरुद्ध भइरहेका षडयन्त्रबाट सचेत हुनुपर्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version