काठमाडौं: नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ।

यही साता मलेसिया सरकारको सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ। भिसाको समय सकिएपछि यी युवा अब मलेसिया जान पाउने छैनन्।

वैदेशिक रोजगार विभाग आफैंले पनि कलिङ भिसाको विवरण संकलन गर्दा सबैको (४०–५० बाहेक) भिसा सकिएको फेला परेको हो। १० महिनादेखि कचल्टिएको मलेसिया रोजगारीलाई पुरानै अवस्थामा फर्काउन विभागले भिसाको अवस्था हेर्न खोजेको थियो।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले अहिले आएका कलिङ भिसामध्ये प्रायः सबैको समय सकिएको जानकारी दिँदै अब के गर्ने भन्ने विषयमा विश्लेषण गर्ने काम भइरहेको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version