काठमाडौँ : मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेकाा एनसेलका टावरमा आगजनी र बम आक्रमण भएको हो । यस पटकको आक्रमणमा पनि विप्लव नेतृत्वको नेकपाकै हात रहेको आशंका गरिए पनि उसले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।
ललितपुरको नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको मेनेजर विजय रिमालले बताए । अत्याधिक रक्तश्राबका कारण उनलाई बचाउन नसकिएको उनले स्पष्ट पारे ।
घाइते गुरुङलाई सुरुमा अल्का अस्पताल लगिएको, त्यसपछि बीएन्ढ बी हुँदै अन्तिममा मेडिसिटी अस्पताल लगिएको थियो । लमलुङ स्थायी घर भएका ४९ वर्षीय गुरुङ हाल ललितपुरको भैंसेपाटी बस्दै आएका थिए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी जनाएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो ।
तर क्षतिको विस्तृत विवरण आइसकेको छैन । शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो ।
