रसुवा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।”

सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै रसुवादेखि शुरु भएको काङ्ग्रेस प्रवेशको अभियानलाई देशव्यापी रुपमा लगिने र अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप लगाउँदै समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पूरा हुन सक्दैन भन्नुभयो ।

वाइडबडी, एनसेल, सुनकाण्ड र निर्मला पन्त काण्डमा सरकार मौन बसेको पनि उहाँले उल्लेख गर्नुभयो ।
पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी एकता अभियानलाई मुलुकको सबै जिल्लामा लैजानुपर्ने बताउँदै आउँदो निर्वाचनमा काङ्ग्रेस एक नम्बर पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“काङ्ग्रेस अहिले पनि बलियो छ, आगामी दिनमा पनि बलियो रहन्छ,” उहाँले भन्नुभयो, “पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गरी अब पार्टी एकजुट भएर अगाडि बढ्छ ।”

काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनअपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकलाई प्रजातान्त्रिक बाटोमा लैजान काङ्ग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै अब पार्टीलाई नवीन ढङ्गले अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो ।

सरकार अपराधी खोज्नुभन्दा अपराधी जन्माउन लागेको आरोप लगाउँदै उहाँले आगामी निर्वाचन जित्ने गरी पार्टी सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकार गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरिरहेको बताउँदै सरकारले प्रजातान्त्रिक चरित्र गुमाएको आरोप लगाउनुभयो ।

“प्रधानमन्त्रीको सपनामा पानीजहाज, हवाईजहाज र रेल छ, जनता छैनन्,” उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको विकास र समृद्धिका लागि आफू लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वु वाङ्दी तामाङले रसुवामा हुने तस्करी, घुसखोरी र भ्रष्टाचारको अन्त्य गर्दै रसुवाको समग्र विकासका लागि आफूहरुले काङ्ग्रेससँग एकता गरेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, रसुवा प्रदेश (ख)का सांसद प्रभात तामाङ, काङ्ग्रेस रसुवाका पूर्वसभापति लामा कार्पु तामाङ लगायतले नेपाली काङ्ग्रेस बलियो भए मात्र मुलुक बन्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version