काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण यादव पाठकलाई ७८ लाख रुपैयाँ घूस खुवाएको आरोप लागेका लम्बोदर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियम विपरीत खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।
कलेजको अनियमितताबारे भएको अनुसन्धानमूलक लेखापरीक्षणमा विभिन्न व्यक्तिका नाममा नियमविपरीत भूक्तानी २३ करोड१० लाख, नियमविपरीत थप खर्च ३३ करोड ७६ लाख र स्रोत नखुलेको बचत ३१ करोड ८६ लाख समेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता भएको देखिएको हो ।
‘जी पौड्याल एण्ड एसोसियट्स’ नामक चार्टर्ड एकाउण्टेन्सी फर्मले गरेको लेखापरीक्षणबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित रुपमा भूक्तानी भएको भेटिएको हो ।
कलेज सञ्चालक तथा अन्य पदाधिकारीले गरेको ३३ करोड ७६लाख ७३ हजार ४९ रुपैयाँ खर्चलाई पनि लेखा परीक्षणले गैरकानूनी ठहर्याएको छ । तत्कालिन सञ्चालक तथा अध्यक्ष लम्बोदर न्यौपानेले मात्रै ८ करोड ५८ लाख लेखाको रेकर्डमा रहने गरी र ४ करोड ७४ लाख लेखा प्रणालीमा नदेखिने गरी लिएका थिए ।
यो समाचार आजको कान्तिपुर दैनिकको प्रथम पृष्ठमा कृष्ण ज्ञवाली र स्वरुप आचार्यले लेखाका छन्
।
